६ श्रावण २०८१, आईतवार | Sun Jul 21 2024

Logo

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो– पुटिन



Russia’s President Vladimir Putin meets with the Russian Foreign Ministry leadership in Moscow on June 14, 2024. (Photo by NATALIA KOLESNIKOVA / AFP)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी दिनुभएको छ । 

जी७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन् । 

सन् २०२२ मा मस्कोले युक्रेनमा सेना पठाएको केही दिनपछि जी७ र युरोपेली सङ्घ (इयु) ले रुसी केन्द्रीय बैंकको करिब तीन खर्ब युरो (तीन खर्ब २५ अर्ब डलर) फ्रिज गरेका छन् । 

पुटिनले शुक्रबार पश्चिमी मुलुकहरूले ‘कुनै प्रकारको कानूनी आधार’ ल्याउन खोजिरहेको भन्दै ‘सबै छलका बाबजुद चोरी अझै पनि चोरी नै हो र यसलाई दण्डित नगरिरहन सकिँदैन’ भन्नुभयो । 

उहाँले मस्को र पश्चिमबीचको गतिरोध ‘अस्वीकार्यरूपमा फिर्ता नहुने विन्दुको नजिक पुगेको’ चेतावनी दिँदै मस्कोसँग ‘आणविक हतियारको सबैभन्दा ठूलो शस्त्रागार रहेको’ दावी गर्नुभयो । 

पुटिनले युक्रेनसँगको द्वन्द्वमा बारम्बार आणविक बयानबाजीको प्रयोग गर्नुभएको छ । यसलाई उहाँले रुस र नाटो सैन्य गठबन्धनबीच व्यापक ‘हाइब्रिड युद्ध’ मा मात्र एउटा मोर्चाका रूपमा प्रस्तुत गर्नुभएको छ । 

राष्ट्रपति पुटिनले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति मञ्चको आलोचना गर्दै यसलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्नुभयो । 

मस्कोलाई उक्त सम्मेलनमा आमन्त्रण गरिएको छैन । सम्मेलनमा करिब ९० मुलुकका राष्ट्राध्यक्ष र अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ अधिकारीहरूले सहभागिता जनाउनेछन् । 

युक्रेनले सेना फिर्ता गर्नुपर्छ र शान्तिवार्ताका लागि नाटोको प्रयास अन्त्य हुनुपर्छ ।

यसैबीच पुटिनले शुक्रबार युक्रेनले उसका चार वटा क्षेत्र र नाटो सदस्यताको प्रस्ताव त्यागेमा मस्कोले युद्ध बन्द गर्ने र शान्ति वार्ता सुरु गर्ने बताउनुभएको छ । 

स्विट्जरल्यान्डमा युक्रेन र उसका सहयोगीहरूद्वारा आयोजित प्रमुख शान्ति शिखर सम्मेलनको पूर्व सन्ध्यामा उहाँले सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि आफ्ना ‘सर्तहरू’ को रूपरेखा प्रस्तुत गर्दै हुनुहुन्थ्यो । 

मस्कोमा रुसी राजनीतिज्ञहरूलाई टेलिभिजनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “डोनेट्स्क जन गणतन्त्र, लुगान्स्क जन गणतन्त्र, खेरसान र जापोरिजिया क्षेत्रबाट युक्रेनी सैनिक पूर्णरूपमा फिर्ता हुनुपर्छ ।” 

रुसले सन् २०२२ मा चारै क्षेत्रमा कब्जा गरेको दावी गरेको छ यद्यपि तीमध्ये कुनै पनि क्षेत्रमा उसको पूर्ण नियन्त्रण थिएन । 

“यस्तो गर्न तयार रहेको किएभले भन्छ र वास्तवमै सैनिकहरूलाई फिर्ता सुरु गर्न थाल्छ तथा आधिकारिकरूपमा नाटोमा संलग्न हुने योजना त्याग्छ भने हामी तुरुन्त युद्धविराम गर्नेछौँ र वार्ता सुरु गर्नेछौँ”, उहाँले भन्नुभयो । 

उहाँले ‘रुसको क्रिमियासँग बलियो भूमि सम्बन्ध रहेको सर्तमा’ खेरसान र जापोरिजिया क्षेत्रमा ‘युक्रेनी सार्वभौमसत्ता कायम राख्न अस्वीकार नगर्ने’ बताउनुभएको थियो ।

रुसको आक्रमणको प्रमुख लक्ष्य युक्रेनको दक्षिणी तटसँग रुस र क्रिमिया प्रायद्वीपबीच ‘भूमि पुल’ बनाउने हुनसक्ने सैन्य विश्लेषकहरूले लामो समयदेखि भन्दै आएका छन् । 

यद्यपि पुटिन र शीर्ष रुसी अधिकारीहरूले सामान्यतया किएभको ‘नव–नाजी’ शासनबाट युक्रेनको पूर्वमा जातीय रुसी र रुसी भाषीहरूलाई जोगाउन भन्दै आफ्नो आक्रमणलाई जायज ठहर गर्ने प्रयास गरिरहेका छन् । 

युक्रेन र पश्चिमले ती आरोपहरूलाई आधारहीन भन्दै अस्वीकार गरेका छन् र रुसको सैन्य कारवाहीलाई साम्राज्यवादी शैलीको आक्रामकताका रूपमा वर्णन गरेका छन् । 

रुसले सन् २०१४ मा एकपक्षीय रूपमा क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको छ । यसबाट अन्तर्राष्ट्रिय आक्रोश बढ्यो र मुलुकको पूर्वमा रुसी समर्थित पृथकतावादीहरू तथा किएभका सेनाबीच सशस्त्र द्वन्द्व सुरु गर्यो । 

युक्रेनले रुस क्रिमियासहित आफ्ना अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट सम्पूर्णरूपमा फिर्ता भएमा मात्र शान्ति कायम हुने बताएको छ ।   


प्रतिक्रिया दिनुहोस !