७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

सेराप विष्ट गाउँ फर्के रे !



हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहनुभएको थियो । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ ?’ भन्दै उहाँ हामीछेउ आइपुग्नुभयो । भर्खरै टिपेको केराउ थमाउनुभयो । हंसमुख र विनम्र वचनसहित टक्र्याएपछि केराउको स्वाद नलिइ भएन । अहो! कति रसिलो । 

हाम्रो उद्देश्य केराउको स्वाद चाख्नु नभइ उहाँबारे जानकारी लिनुथियो । हामीले थप नअल्मिलिँदै जिज्ञासा राख्यौँ, उहाँ पनि सजिलो गरी प्रस्तुत हुनुभयो । जीवनका अन्तरकुन्तर खोल्नुभयो ।

सपनाको सहर काठमाडौँबाट जन्मथलो फर्केर कृषि र पर्यटन व्यवसायमा रमाइरहनुभएका ३२ वर्षीय युवा । विसं २०६५ मा विद्यालय शिक्षा पूरा गरी विष्ट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिर्नुभयो । म्यानपावर कम्पनीमा काम गर्दै होटल व्यवस्थापन पढ्नुभयो तर आर्थिक अभावले पढाइलाई १२ कक्षाभन्दा अगाडि बढाउन सक्नुभएन । “भृकुटीमण्डमा घोडा तान्ने कामदेखि के सम्म गरिएन काठमाडौँमा”, विष्ट विगततिर फर्किनुभयो, “पराइ ठाउँ, न घरपरिवार न आफन्त, छाक टार्ने जागीरले काठमाडौँको बसाइँ सकसपूर्ण हुन थालेपछि म आफ्नै ठाउँ चामे फर्किएँ ।” नौ वर्षको काठमाडौँ बसाइँलाई बिट मारेर उहाँ विसं २०७५ मा मनाङ फिर्नुभयो । सदरमुकाम चामेमा विष्टका बुबाआमा निर्वाहमुखी कृषि गरिरहनुभएको थियो तर व्यावसायिक चेत थिएन । जेठा छोरा सेराप गाउँ फर्किएपछि दुःखसुख गरेर जीवन धानिरहनुभएका विष्ट दम्पतीको जीवनले पनि नयाँ मोड लियो । 

सेरापले गाउँ फर्केपछि ‘विष्ट एप्पल फार्म’ स्थापना गर्नुुभयो । त्यो बेला ‘फार्म’ दर्ता कसरी गर्नेसम्म उहाँलाई थाहा थिएन । गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले त्यसमा सघाउनुभयो । तनहुँको दमौली पुगेर सेरापले स्थायी लेखा नम्बर ‘पान’ नम्बर ल्याउनुभयो । चार रोपनीमा फैलिएको ‘फार्म’मा अहिले स्याउ फलिरहेका छन् । स्याउसँगै उहाँले व्यावसायिक तरकारीखेती सुरू गर्नुभयो । प्लाष्टिक घर (टनेल)मा लटरम्म गोलभेँडा फलेका छन् । चामेका होटललाई चाहिने तरकारी उहाँले नै पु¥याउनुहुन्छ । “चार रोपनीमा आलु र दुई रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत अरु तरकारी लगाएको छु”, उहाँले सुनाउनुभयो, “किवी, आरु, खुर्पानीलगायत मौसमअनुसारका फलफूल पनि लगाएको छु ।” 

गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उहाँले कृषिमा मात्र सीमित गर्नुभएन । चामे गाउँपालिका–५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उहाँको अर्को व्यावसायिक कर्म हो । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग छेउ रहेको उक्त ‘होमस्टे’ले विष्टलाई पर्यटन उद्यमीका रूपमा समेत चिनाएको छ । “होमस्टे सञ्चालनमा ल्याएको नौ महिना बित्दैछ, दुई पर्यटकीय याममा हामीले सेवा दिइसकेका छौँ”, विष्टले भन्नुभयो, “पाहुनालाई आफ्नै बारीको उत्पादन चखाउने हेतुले होमस्टे सञ्चालनमा ल्याएका हौँ, हामीकहाँ नेपाली र विदेशी दुवै खाले पर्यटक आउँछन् ।” 

चामेको रैथाने बाली उवा, फापर, आलु, सिमीलगायतका परिकार उहाँको भान्छामा पाक्छ । पर्यटकले चाहेमा बारीमा पुगेर आफँै तरकारी टिप्न र पकाउन पनि पाउँछन् । विशुद्ध पारिवारिक वातावरण दिएर पर्यटक लोभ्याउने विष्टको सोच छ । उहाँले भन्नुभयो, “हाम्रो आमाले पहिले भान्छामा जे पकाउनुहुन्थ्यो, त्यही परिकार पर्यटकलाई दिन्छौँ, स्थानीय उत्पादनमै हाम्रो बढी जोड छ ।” 

विष्टले ‘होमस्टे’ आमाकै नाममा दर्ता गरेर चलाउनुभएको छ । ‘होमस्टे’मा एक रातमा १५ जना पाहुना बस्न सक्छन् । हिमाली सभ्यता र जनजीवन झल्काउने गरी ‘होमस्टे’ सेवालाई विविधीकरण गर्दै जाने विष्टको योजना छ । “निकट भविष्यमा फार्म हाउस खोल्ने योजना छ, हेरौँ परिस्थितिले कत्तिको साथ दिन्छ”, उहाँले भन्नुभयो, “आफ्नै जन्मथलोमा केही गर्ने हुटहुटी छ, व्यावसायिक कर्म र बुबाआमाको सेवामा समर्पित भएर लाग्ने प्रण गरेको छु ।” 

उमेरले उकालो चढ्दै गर्नुभएका साङ्दो र पेमा भुटी विष्ट पनि छोरा गाउँ फर्केपछि निकै खुसी हुनुहुन्छ । विष्ट दम्पतीले सकेजति छोरालाई काममा सघाइरहनुभएको छ । । सेराप आफैँ खेतीबालीको काममा खट्नुहुन्छ । कहिलेकाहीँ खेताला लगाउनुहुन्छ । पर्यटनबाट धानिएको मनाङमा आफ्नो भविष्य सुरक्षित देख्नुभएका सेराप अरूका लागि पनि प्रेरणा बन्नुभएको छ । उहाँको लगाव, योजना र सोचका कारण गत आइतबार गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ बाट सम्मानित हुनुभएको छ । 

कृषि तथा लघु उद्यमतर्फ प्रदेशभरीमा प्रथम स्थानमा छनोट भई उहाँले रु ५० हजार पुरस्कार पाउनुभयो । केही समयअघि उहाँलाई चामे गाउँपालिकाले पनि युवा उद्यमीका रूपमा सम्मान गरेको थियो । “सम्मान र पुरस्कारले थप प्रेरणा दिएको छ, आगामी दिनमा व्यवसायको गुणस्तर र क्षमता विस्तारतिर लाग्छु, थोरै सङ्ख्यामा भए पनि गाउँमै रोजगारी सिर्जना हुने गरी काम गर्छु”, उहाँले भन्नुभयो ।  

विष्टलाई सबैभन्दा सन्तोष लाग्ने विषय हो बुढेसकालमा बुबाआमासँगै रहन पाउनु । “जग्गा धेरै भएर पनि बुबाआमाले खेतीकिसानी गर्न नसक्ने अवस्था थियो, म घर फर्केपछि बल्ल उहाँहरूलाई पनि आडभरोसा मिल्यो, खुसीसाथ कृषिकर्ममा रमाइरहेका छौँ, कमाइ पनि राम्रै छ”, विष्टले भन्नुभयो । सेरापका माइला भाइ भक्तपुरमा बौद्धशिक्षा पढ्दै हुनुहुन्छ भने कान्छा भाइ वैदेशिक रोजगारमा हुनुहुन्छ ।  

देश नै विदेश भइरहेको छ भन्ने भाष्य बनिरहेका बेला सेराप भने आफ्नै थातथलो फर्केर आफ्नै जीवनमा आशा भरिरहनुभएको छ भने अरूलाई देशमै केही गर्नुपर्छ भनेर प्रेरणा दिइरहनुभएको छ । तिनै युवाउद्यमी सेरापलाई हामीले सोध्यौँ—श्रवण मुकारुङले रचेको अहिलेको चर्चित गीत ‘राई माइलाले गाउँ छाड्यो रे…’ सुन्नुभएको छ ? जवाफमा भन्नुभयो, “गीत सुनेको छु, मिठो छ ।”  

हामीले भने ‘सेराप विष्ट गाउँ फर्के रे !” भनेर प्रशंसा ग¥यौँ । उहाँ मन्द मुस्काउनुभयो । मुस्कानसहित उहाँले भन्नुभयो,“नबिर्सनुहोला ल ! समय मिलेमा फेरि पनि आउनुहोला, हाम्रै होमस्टेमा बसेर एकरात सँगै रमाउँला ।” हामी पनि मन्द मुस्कानले उहाँको भनाइमा स्वीकारोक्ति जताएर छुट्टियौँ ।  


प्रतिक्रिया दिनुहोस !