७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

Logo

कहिल्यै सुध्रिन नखोज्ने हाम्रो समाज- स्वास्थ्यकर्मीले बोक्दा स्थानीय रमिते



स्वास्थ्यकर्मीको सेवा स्वास्थ्य संस्थामा वा बाहिर पनि ? उत्तर पक्कै बाहिर पनि भन्ने नै आउँछ । अनि बाहिर जाँदा स्वास्थ्य सरोकारकै अथवा अरू ? यसमा पनि स्वास्थ्य सरोकारकै भन्ने आउँछ तर प्युठानको मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले भने बिरामीलाई बोकेर घर लगिदिने सेवा पनि दिएका छन् । 

यति मात्र होइन पोसाकसहितका स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरसम्म लैजाँदा बाटामा कसैले उनीहरूलाई सहयोग गरेनन्, रमिता मात्र हेरिरहे । घटना विवरण अनुसार ऐरावती गाउँपालिका–६, काल्ने प्युठानकी ३० वर्षीया जीवा विक सुत्केरी व्याथाले च्यापेपछि धरमपानी स्वास्थ्य चौकी पुग्नुभयो । उहाँ तीन वर्षको छोरो र आमासहित राति ८ बजे स्वास्थ्य चौकीमा पुग्नुभएको थियो ।

उहाँले त्यसै राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिनुभयो । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीले उहाँलाई घर जान सल्लाह दिए तर पानी परिरहेकाले बाटो अवरुद्ध थियो । गाडी चलेका थिएनन् । उहाँ आफैँ हिँडेर जान पनि सक्नुहुन्नथ्यो । अनि उहाँलाई घरसम्म बोकेर लैजाने सहयोगी कोही पनि थिएनन् । 

त्यसपछि स्वास्थ्यकर्मीले नै स्ट्रेचरमा बोकेर उहाँको घरसम्मै पु-याइदिए । जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौँ) टुकाराम पोख्रेलले भन्नुभयो, “स्वास्थ्य चौकीमा आएका गाउँका मान्छेलाई घरसम्म पु-याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार नभएपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पु-याइदियौंँ ।”

जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेव मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई बोकेर लैजानुभएको थियो । 

मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालै मात्र बसाइँ सरेर ऐरावती गाउँपालिका आउनुभएकी जीवाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । त्यसैले जीवा माइतमा बस्दै आउनुभएको छ । स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । जनस्वास्थ्य निरीक्षक पोख्रेलबाहेक अरू सबै महिला हुनुहुन्छ ।

जनस्वास्थ्य निरीक्षक पोख्रेलले भन्नुभयो, “अब सुत्केरीलाई घर लैजान सक्नुहुन्छ भन्यौँ । उहाँले आफैँ हिँडेर जान्छु पो भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत ग-यौँ । सुरुमा मैले अगाडिबाट दुवै काँध थापेँ । पछाडितिर महिला कर्मचारीलाई बोक्न भनेँ । पछि आलोपालो गरियो ।”

स्थानीयका अनुसार गाउँमा पुरुष र युवाको अभाव छ । भएका केही व्यक्ति पनि खेतीपातीको समय भएकाले व्यस्त थिए । सुत्केरी जीवालाई बोकेकी अनमी पार्वता पुनले भन्नुभयो, “हामीले बोकेर लैजान्छौँ भन्दा म आफैँ हिँडेर जान्छु भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई रक्तस्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौँ ।” 

उहाँका अनुसार धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जीवाको घर करिब एक घण्टाको दुरीमा छ । उहाँको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नु पर्छ । पानी परेकाले गोरेटो बाटो चिप्लो थियो । 

महिला कर्मचारीले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,” पुनले भन्नुभयो, “बाटोमा मान्छेले हामीलाई हेरिरहे । सहयोग गर्न कोही आएनन् ।”अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाए झैँ लागिरहेको सुत्केरी जीवाले बताउनुभयो । 

प्युठानको मल्लरानी–३ मा रहेको धरमपानी स्वास्थ्य चौकीमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१, प्युठानको मल्लरानी गाउँपालिकाकै २ र ऐरावती गाउँपालिका–६ का बासिन्दाले पनि सेवा लिन्छन् । 

©️ गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !