Sunday, October 6, 2024

ट्रेन्डिङ :

कोरोनाको उपचार आफैले गर्नु पर्ने सरकारको निर्णयको चर्को आलोचना

पिताम्बर पोख्रेल

काठमाडौं : कात्तिक २, कोराना भाईरस महामारीले देशको अर्थतन्त्र तथा जनजीवन थिलाथिलो बनिरहेको बेला सरकारले अबदेखि कोरोना भाइरसको परीक्षण तथा उपचार खर्च विरामी आफैले गर्नु पर्ने बताएपछि सरकारको आलोचना हुन थालेको छ । कोरोना भाईरसको नियन्त्रणमा अरबौँ खर्च गरेपनि नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना खेपिरहेको सरकारले कोरोना संक्रमित आफैले परिक्षण तथा उपचारको खर्च गर्नु पर्ने निर्णय गरेपछि सरकारको निर्णयको चौतर्फी आलोचना हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरिएको प्रेस ब्रिफिङमार्फत् प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएका थिए । सो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने उनले बताएका छन् ।

तर, आर्थिक अवस्था कमजोर भएका, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिने बताएपनि स्थानीय सरकार, प्रदेश र संघीय सरकारमा पहुँच हुनेहरुले मात्र निशुल्क उपचार पाउने अरु पहुँच नहुनेहरुले उपचारबाट बन्चित हुनुपर्ने भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । अहिलेसम्म राज्यले उपलब्ध गराएको विविध प्रकारका सहुलियत विभिन्न ठूला राजनीतिक दल वा पार्टीका नेता तथा कार्यकर्ताका आफन्तले मात्रै पाउने गरेको सर्वत्र गुनासो सुनिदैँ आएको छ ।

सरकारले दिएको कृषि तथा पशुपालन अनुदानमा विभिन्न राजनीतिक दलका नेताका आफन्त र निजामती कर्मचारीतन्त्रमा पहुँच भएकाहरुले मात्रै पाएको र जसलाई लक्षितगरि कार्यक्रम ल्याईएको हो त्यसले प्राप्त गर्न नसकेको कृषिमन्त्री घनश्याम भुसालले स्वीकार गरिसकेका छन् । उनले संसदमा बोल्दै कृषि मन्त्रालयको ७५ प्रतिशत बढी रकम साडी र गाडीमा खर्च भएको अभिव्यक्ति दिएका थिए । त्यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा देशभरीका स्थानीय तहमा सत्तारुढ नेकपा र कांग्रेसका जनप्रतिनिधिहरुले आ-आफ्ना मतदाता र समर्थकहरुलाई बढी प्राथमिकता पाउने गरेको सर्वत्र गुनासो सुनिदैँ आएको छ । त्यस्तै प्रधानमन्त्रीले दशैँका लागि आफ्ना कार्यकर्ताहरुलाई अरबौँ खर्च दिने गरेको भएपनि सर्वसाधारणले पाउने गरेका छैनन् । यद्यपि कोरोना बीमा गराएको भएमा उक्त कोरोना बीमाबापतको रकमबाट कट्टा गरिने पनि मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएकाछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?