१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

दार्चुला कारागारका ३५ जनामा कोरोना संक्रमण पुष्टि



दार्चुला। जिल्ला कारागार दार्चुलाका ३५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । दार्चुला कारागारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ३५ जनामा बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको कारागार कार्यालय दार्चुलाका प्रमुख मानबहादुर खडायतले जानकारी दिनुभयो । कारागारभित्र ठाउँ अभावमा संक्रमितलाई अलग्गै कोठामा राख्न सकिने अवस्था छैन् । दार्चुला कारागारको २५ जना पुरुष र १५ जना महिला गरि ४० जना कैदिबन्दी राख्ने क्षमता हो । तर अहिले क्षमताभन्दा २० जना बढी कैदीबन्दी राखिएका छन् । हाल दार्चुला कारागारमा १२ थुनुवा र ४८ जना कैदी गरि ६० जना कैदीबन्दी रहेका छन् जसमा ५७ जना पुरुष र ३ जना महिला कैदी रहेको कारागार प्रमुख खडायतले बताउनुभयो ।

बुधबार संक्रमण पुष्टि हुनेमा ३० जना कैदीबन्दी र ५ जना कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी छन् । फरार अभियुक्तको सूचिमा रहेर भारतबाट फर्किएका कैदीलाई प्रहरीले पक्राउ गरि अदालतबाट कारागार चलान गरेको थियो । उनिहरुबाट नै कारागारभित्र कोरोनाले प्रबेश पाएको हुनसक्ने आशंका गरिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दीको भिडभाड भएकाले कारागार भित्र कोरोनाको जोखिम झन बढेको खडायतले बताउनुभयो । यसअघि कारागारमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना मध्ये एक जना मानसिक र एक जना हर्नियासम्बन्धी रोगी रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

दार्चुलामा एकै दिन ५० जनामा संक्रमण

दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूसालले जानकारी दिनुभयो । बुधबार ८४ जनाको पीसीआर परीक्षण गर्दा महाकाली नगरपालिका दार्चुलाका ५० जनाको रिपोर्ट पोजेटिभ र ३४ जनाको रिर्पोट नेगेटिभ आएको भूसालले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेमा ३५ जना कारागार, तीन जना नेपाल प्रहरी, दुई जना स्वास्थ्यकर्मी र बाँकी नेपाली सेना र स्थानीय रहेका छन् । यो संगै दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ । दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिकामा हालसम्म १६४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ९२ जना सक्रिय संक्रमित छन् ।

शैल्यशिखर नगरपालिकामा १९ जना, मार्मा गाउँपालिकामा ४४ जना, मालिकार्जुन गाउँपालिकाका सात जना, लेकम गाउँपालिकाका पाँच जना, दुहुँ गाउँपालिकाका आठ जना, व्यास गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये मार्मा गाउँपालिकाका तीन जना, मालिकार्जुन गाउँपालिकाका दुई जना, दुहुँ गाउँपालिकाका छ जना, लेकम गाउँपालिकाका एक जना संक्रिय संक्रमित आइसोलेसनमा छन् ।

जिल्लाभरीमा २५० संक्रमितमध्ये १०४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन वीरेन्द्रराज भट्टले जानकारी दिनुभयो । हालसम्म तीन हजार चार सय ३४ जनाको स्वाब संकलन गरिएकोमा दुहुँ गाउँपालिकाका ९१ जनाको रिपोर्ट आउन बाकी छ । जिल्ला बाहिर कोरोना परीक्षण र संक्रमण पुष्टि भएकाहरुको विवरण यसमा समावेस गरिएको छैन् ।

समुदायमा थप कोरोना फैलिन नदिन भन्दै महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्र र दुहुँ गाउँपालिका–२ हिकिलामा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सदरमुकामबाट बाहिरिने क्रम समेत नरोकिएकोले महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्ने चिन्ता बढेको स्थानीयले बताएका छन् । दशैँको अवसरमा जिल्ला बाहिरबाट भित्रिनेहरुको चहलपहल समेत बढ्न थालेकोले समुदायस्तरमा कोरोना पुग्ने जोखिम बढेको स्थानीय केशब भट्टले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: