Sunday, September 8, 2024

ट्रेन्डिङ :

धनुषामा निर्माणाधीन चार सय केभी ढल्केबर सबस्टेसन तयार

काठमाडौँ। नेपालको आन्तरिक विद्युत् प्रवाह सुदृढीकरण तथा नेपाल भारत दुई देशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको धनुषामा निर्माणाधीन चार सय केभी ढल्केबर सबस्टेसन तयार भएको छ । २२० केभी क्षमतामा सञ्चालनमा ल्याइएकामा सबै प्राविधिक उपकरण जडान तथा परीक्षणपछि अहिले चार सय केभीए पूर्ण क्षमतामा सञ्चालन गर्न नो लोड चार्ज भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसको निर्माण १२ सय मेगावाट विद्युत् आदान–प्रदान गर्नसक्ने गरी जीआईएस प्रविधियुक्त स्वचालित रूपमा गरिएको छ । सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ट्रान्समिटर छन् । अहिले ती ट्रान्सफर्मर चार सय केभीमा सञ्चालन गर्नेगरी नो लोड चार्ज सुरु गरिएको ढल्केबर सबस्टेसन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिनुभयो । ३१५ एमभीएका तीन ट्रान्सफर्मरलाई चार सय केभीएमा सञ्चालन गर्नेगरी २२० केभी ब्याक फिडबाट चार्ज गर्न सुरु भएको छ, उहाँले भन्नुभयो, “अहिले एउटा सुरु गरिएको छ, त्यसपछि बाँकी दुई चार्ज हुनेछन् । ”

असार मसान्तभित्रै यस्तो चार्ज गर्ने लक्ष्य प्राधिकरणको थियो तर कोरोना महामारीका कारण जारी बन्दाबन्दीले चीनबाट उपकरण आउन पाएका थिएनन् । कोरोना त्रासका कारण केरुङ नाका बन्द हुँदा हाई भोल्टेज टेस्टिङ मेसिन ल्याउन ढिला भएको होे । निर्माण सम्पन्न हुनैै लागेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न यो सबस्टेसन अत्यावश्यक रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सेनाले बताउनुभयो । तामाकोसीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन यो सबस्टेसनले भूमिका खेल्नेछ, उहाँले भन्नुभयो, “ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात तथा निर्यात गर्न पनि यो प्रसारण लाइन प्रयोगमा आउने छ । ”

माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोङ्गरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याउन लागिएको छ । यसका लागि आयोजनाले गोङ्गर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पु¥याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसन तयार भएसँगै नेपाल–भारत विद्युत् व्यापारका लागि बन्दै गरेको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन पनि अब चार सय केभीमा सञ्चालन गर्न लागिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिनुभयो । भारतको मुजफ्फरपुरमा रहेको एक टावरमा करिब दुई सय मिटर तार चार सय केभीमा सिफ्ट गर्ने काम मात्र बाँकी छ । यो काम पनि आगामी नोभेम्बर १० भित्र सक्ने जानकारी भारतीय पक्षले गराएको छ, कोइरालाले भन्नुभयो, “नेपाल–भारत विद्युत् व्यापारका लागि हामी प्राविधिक रूपले चुस्त भएका छौँ । ”

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्यास इन्सुलेटेड यो सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ । सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष २०७४÷७५ देखि ठेक्का प्रक्रिया थालिएको थियो । निर्माण थालिएको करिब साढे दुई वर्षमा यो सबस्टेसन तयार भएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?