१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

कोरोना कहरले दशैंमा पनि सुनसान बन्यो प्रख्यात शक्तिपीठ पाथिभरा



ताप्लेजुङ- ताप्लेजुङमा रहेको प्रख्यात देवीको शक्तिपीठ पाथिभरा यस वर्षको दशैमा पनि सुनसान बन्न पुग्यो । कोरोना भाइरसको महामारीका कारण मन्दिर दर्शनका लागि भक्तालुहरु आउन अनुमति नभएपछि दशैका बेला पनि मन्दिर सुनसान बनेको हो । विगतका दशैको नौरथामा दैनिक ५ हजारदेखि १५ हजारसम्म भक्तजनहरु आउने गर्दथे तर, यो बर्ष भक्तजनको आवतजावत शुन्य नै रहेको छ ।

खासगरी दशैका बेलामा विशेष पूजाका लागि भक्तजनहरु आउने गर्दछ । मन्दिर दर्शनका साथै प्राकृतिसँग खेल्न, मजा लिन पनि आन्तरिक पर्यटकहरु यहाँ आउने गर्छन् । पाथीभरबाट देखिने नेपालको दोस्रो तथा विश्वको तेश्रो अग्लो हिमाल कञ्जनजंघा, कुम्भकर्ण आखाँका अगाडी हातले छोइला जस्तो आभाष यहाँ आउनेहरुलाई हुने गर्दछ । जिल्लामा पनि कोरोनाको संक्रमण देखिएपछि जिल्ला प्रशासनले पाथिभरा मन्दिरमा दर्शनका लागि प्रतिबन्ध लगाएको छ ।

मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको सम्भावना बढ्ने डरका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिवन्ध लगाएको जिल्ला प्रहरी प्रमुख डिएस्पी महेन्द्र श्रेष्ठले बताए । दशैका बेला भक्तजनहरुको ठुलो उपस्थिति हुने र यसरी भिड हुँदा अहिलेको अवस्थामा कोरोना संक्रमणको फैलावट बढ्ने डरका कारण मन्दिरमा नित्य पूजाबाहेक दर्शन, अवलोकन र भ्रमण रोक लगाइएका कारण सर्वसाधारण मन्दिरमा आउन नपाएको मन्दिरका पुजारी डिल्ली आचार्यले बताए ।

पाथीभरामा नेपालबाट मात्र नभई भारतको सिक्किम, दार्जिलिङ, आसाम, गान्तोक, र बंगालका नागरिकसमेत दर्शनका लागि आउने गर्छन ।


प्रतिक्रिया दिनुहोस !