११ चैत्र २०७९, शनिबार
 |   Sat Mar 25 2023
Logo

बेल्जियममा कोरोना संक्रमण फेरी नियन्त्रणबाहिर, संक्रमित चिकित्सकलाई पनि काममा बोलाइदै



एजेन्सी- युरोप र अमेरिकामा कोरोनाको दोस्रो लहरले अवस्था विकराल बनेको छ। युरोपेली मुलुक बेल्जियमको हालत कतिसम्म कमजोर भइसक्यो भने कोरोना संक्रमित चिकित्सकहरुलाई पनि काम गर्न अस्पतालमा बोलाउनु परेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बेल्जियमको लिज सहरमा संक्रमणका कारण आइसोलेसनमा रहेका १० जनाभन्दा बढी चिकित्सकहरुलाई काममा आउन भनिएको छ।

डेली मेलको रिपोर्टका अनुसार यस सहरमा एक चौथाइभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। सीएचसी मोन्टलेगिया अस्पतालको आइसियुमा कार्यरत एक चिकित्सक फिलिपे डेवोसका अनुसार लिज सहरको स्थिति निकै विकराल भइसकेको छ।

बिना लक्षणका संक्रमित चिकित्सकहरुलाई काममा बोलाउनु खतरापूर्ण भए पनि स्वास्थ्य अवस्थालाई जोगाइराख्न अब यही विकल्प बाँकी रहेको ती चिकित्सकले जानकारी दिए। १ करोड १६ लाख जनसंख्या भएको बेल्जियममा अहिलेसम्म कोरोना संक्रमणका ३ लाख ३३ हजारभन्दा बढी केसहरु देखिइसकेका छन्। सोमबारमात्र बेल्जियममा १५ हजार नयाँ संक्रमित भेटिएका थिए भने ७३ जनाको निधन भएको छ। बेल्जियमका स्वास्थ्यमन्त्रीले त्यहाँ कोरोनाको सुनामी आउनसक्ने बताए।

उनले बेल्जियममा कोरोना नियन्त्रणभन्दा बाहिर पुगिसकेको उल्लेख गरे। प्रधानमन्त्री अलेक्जैन्डर डे क्रूले पनि स्थिति गत मार्चभन्दा धेरै बिग्रिसकेको उल्लेख गरे। उनले भने, गत मार्चभन्दा तीन गुना बढी संक्रमित अस्पतालमा रहेको र स्थिति झन् बिग्रिँदै गइरहेको छ।’ युरोपका अन्य सहरहरुमा पनि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ।


प्रतिक्रिया दिनुहोस !