Monday, September 9, 2024

ट्रेन्डिङ :

सहमतिपछि पौडेलले देउबालाई भने, ‘तपाई कम्तिमा ओली जस्तो त हुनुनहुन्न’ धन्यवाद

काठमाडौं : कात्तिक २४, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो १६ बुँदे विरोधपत्रमाथि आइतबार भएको छलफल सहमतिउन्मुख भएपछि सभापति शेरबहादुर देउवाको तारिफ गरको छन् । पौडेलले आफ्नो १६ बुँदे विरोधपत्रमाथि आइतबार भएको छलफलपछि देउबालाई कम्तिमा तपाईँ केपी ओलीजस्तो त हुनुहुन्न । बैठक राख्नुभयो, हाम्रा कुरा सुन्नुभयो, तपाईलाई धन्यवाद छ भन्दै तारिफ गरेका हुन् । पौडेलले गरेको देउवाको तारिफसँगै कांग्रेसमा सभापति देउवा र पौडेल समूहको विवाद लगभग टुंगिएको ठानिएको छ ।

बैठकपछि महाधिवेशनसम्बन्धी सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दुई महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्कालाई दिइएको कांग्रेस नेताहरुले बताएका छन् । दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरुलाई राखेर प्रस्ताव तयार पारेपछि २७ कात्तिकमा केन्द्रीय कार्यसमितिको बैठक बस्ने सहमति जुटेको छ । पौडेल समूहले विभाग गठन, समायोजन र क्रियाशील सदस्यता, भ्रातृ तथा सुभेक्षुक संगठन लगायतका मुद्दा अघि सारेर १२ असोजमा १६ बुँदे विरोधपत्र बुझाएको थियो । २१ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठकको मिति तोकेका देउवाले त्यसअघि नै फेरि पदाधिकारी, पूर्वपदाधिकारी र केही नेताहरुको बैठक बोलाए र नेताहरुका कुरा सुनेपछि कांग्रेसमा विवाद साम्य भएको हो । नेताहरुका अनुसार आइतबार पौडेल समूहले उठाएका बुँदाबुँदामा छलफल भएको थियो ।

विभाग गठनबारे भने दुबै पक्ष आआफ्नो अडानमा रहे । वरिष्ठ नेता पौडेलले विधान विपरीत र महाधिवेशनको मिति तोकिसकेको अवस्थामा बनेको विभाग मान्दिनँ भने । सभापति देउवाले चाहिँ मैले बनाइसकेँ, सकियो भन्ने जवाफ दिए । यो १४ औं महाधिवेशनसँग सम्बन्धित नभएकाले पौडेल समूहले विभाग खारेजीमा अड्डी लिनुका साटो विभागलाई नमान्ने, यसका कार्यक्रमहरुमा नजाने रणनीति लिएको छ ।

अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई दिइएको क्रियाशील सदस्यतालाई विधानअनुसार मिलाउन सभापति देउवा सहमत भएका छन् । कांग्रेसको विधानअनुसार यसरी आएकाहरुलाई केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता दिनसक्छ । तर, तल्लो कमिटीबाट माग भएर आउनुपर्छ । अहिले तल्लो कमिटीबाट माग नै नभई नेताहरुले आफ्नो अनुकुल गरेको पौडेल समूहको दाबी छ । समायोजनबारे निर्वाचन समितिको निर्देशिकाअनुसार नै गर्ने सहमति पनि जुटेको छ । भ्रातृ तथा शुभेच्क्षुक संगठनबारे दुई महामन्त्रीले सहमति खोज्ने नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा १४ औं महाधिवेशनको मितिबारे भने कुनै छलफल भएन । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाए पनि त्यसअनुसार समायोजन, क्रियाशील सदस्यता वितरण लगायतका काम हुन सकेका छैनन् । नेताहरुले फागुनमा महाधिवेशन हुन्न भन्ने पनि बुझेका छन् । तर, नयाँ मिति तोक्न कोही तयार छैनन् । एक केन्द्रीय सदस्यका अनुसार महाधिवेशनको मितिबारे नबोली दुई महामन्त्रीले क्रियाशील सदस्यता वितरणको तिथिमिति प्रस्ताव गर्न सक्नेछन् । क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा भने देउवाले रमेश लेखक प्रस्ताव गरेका छन् । वरिष्ठ नेता पौडेलले भने यसबारे सल्लाह गर्ने प्रस्ताव राखेको कांग्रेस नेताहरुले बताए । यसअघि नरहरि आचार्यलाई संयोजक बनाउने र देउवा पक्षका ३, पौडेल पक्षका २ र सिटौला र गच्छदार पक्षका एक एक जना राख्ने सहमति भएको थियो । तर स्वास्थ्यका कारण आचार्यले संयोजक बन्न अस्वीकार गरेपछि देउवाले आफू निकटका लेखकलाई अघि सारेका हुन्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?