१९ माघ २०७९, बिहीबार
 |   Thu Feb 2 2023
Logo

यमराजको दूतको रूपमा पुजा गरेर आज काग तिहार मनाइदै



काठमाडौं- आज काग तिहार, नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो–मीठो चीजबीज खान दिइन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज कागतिहार मनाइने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।

यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने बिहीबार साँझदेखि नै शुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने बिहीबार नै शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !