२५ माघ २०७९, बुधबार
 |   Wed Feb 8 2023
Logo

मंगलबारदेखि परिक्षा तर मोर्गन कलेका विद्यार्थीहरु प्रहरी कस्टडीमा



काठमाडौं : मंसिर ८, काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ तर मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू भने आइतबारसाँझसम्म छुटेका छैनन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको जानकारी दिए । राठौरका अनुसार उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

कलेजले थप १८ विद्यार्थीविरुद्ध प्रहरीमा उजुरी दिएको अभिभावकहरूले जानकारी दिएका छन् । गत साता प्रवेश पत्र लिन विद्यालय पुगेका मोर्गन कलेजका विद्यार्थीहरूसँग मोर्गन व्यवस्थापनले शुल्क नतिरेको भन्दै प्रवेश पत्र दिन मानेन । त्यसपछि अभिभावक र कलेज व्यवस्थापनबीच छलफल भयो तर सहमति जुटेन । महामारीका कारण शुल्क तिर्न नसक्नेहरूलाई परीक्षा दिने व्यवस्था गर्नुपर्ने र ढिलोमा प्रमाणपत्र लिनुअघि नै शुल्क चुक्ता गर्ने अभिभावकको माग थियो । तर तत्काल शुल्क चुक्ता नगरी कुनै पनि हालतमा प्रवेश पत्र नदिने अडानबाट कलेजपछि सहमति हुन सकेन ।

अभिभावकहरूले भने कतिपयको तिरिसकेको शुल्क पनि फेरि मागेको, आंशिक परीक्षा दिने विद्यार्थीसँग पनि पैसा मागेको र सेनिटाइजर शुल्क मात्रै प्रतिविद्यार्थी ६ हजार रुपैयाँ मागेपछि विवाद बढेको आरोप लगाएका छन् । विवाद बढ्दै जाँदा केही विद्यार्थीले विद्यालय भवनमा ढुंगा हानेको मोर्गन कलेजको आरोप छ । कलेजले उजुरी दिएको नभइ विवाद बढ्दै जाँदा आफैं थाहा पाएर प्रहरी त्यहाँ आएको एक शिक्षकको भनाइ छ । अभिभावकहरूले भने १८ विद्यार्थीविरुद्ध कलेजले किटानी जाहेरी दिएको बताएका छन् ।

‘कलेजका विद्यार्थीहरुको अभिभावकका अनुसार आंशिक परीक्षा दिने विद्यार्थीहरूलाई प्रतिविषय कलेजले १२ हजार रुपैयाँ मागेको थियो । ‘विद्यार्थीलाई एक मिनेट पनि नपढाइकन त्यत्रो शुल्क मागेपछि हामीले तिर्न नसक्ने बताएपछि कलेजले अनुमतिपत्र दिन नमानेपछि विवाद भएको थियो । विद्यार्थी पढ्न नआए पनि विगतमा कक्षा ११ को परीक्षा दिएको र २० प्रतिशत आन्तरिक मूल्यांकनको अंक पठाएबापत हरेक विषयमा १२ हजार रुपैयाँ लिन लागेको मोर्गन कलेजका शिक्षकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !