काठमाडौं : मंसिर ९, बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका–५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका–५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका–४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र घाइतेहरु सबै भारतीय बजार झुलाघाटबाट पेन्सन बुझेर फर्कदै थिए ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले बताए । ११ जना सवार जिपमा रहेका २ जना यात्रु भने सकुशल छन् । जिप चालक गोपाल कार्कीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी पठाइएको डीएसपी अधिकारीले बताए ।