२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

प्रचण्डको काउन्टरमा ओलीको प्रतिवेदन तयार , बैठकमा हिसाबकिताब माग्ने पोखरेलको दाबी



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको जवाफसहित पार्टीको आगामी रणनीतिसमेत समेटेर प्रारम्भिक प्रस्ताव तयार पारेका छन्।

सत्तारूढ नेकपाको प्रस्तावित केन्द्रीय सचिवालय बैठक आउन तीन दिन बाँकी रहेका बेला ओलीका तर्फबाट प्रारम्भिक प्रस्ताव तयार भएको ओली निकट उपप्रधानमन्त्री तथा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिएका छन्।

‘प्रस्ताव तयार पार्ने काम हाम्रा लागि महत्वपूर्ण थियो। त्यसमा ढिलो गर्ने कुरा थिएन। हामीले सबै आरोपको हिसाबकिताव खोजेका छौँ। वास्तविकता लेख्नलाई समय नै धेरै कहाँ लाग्छ र ?’ पोखरेलले भने ।

ओलीसँग असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव, १० पृष्ठ लामो जवाफी पत्र पेश गरेका थिए। उक्त राजनीतिक प्रस्तावको अपनत्व ततकालै प्रचण्ड समूहका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिएका थिए।

मंसिर ३ को केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रस्तावमा लगाइएको आरोपले आफ्नो राजनीतिक जीवनमै धक्का लागेको र त्यसको जवाफ दिन मंसिर १३ गतेसम्म समय लिने प्रस्ताव राखेका थिए। प्रचण्ड पक्षले त्यसलाई सकरात्मक प्रस्ताव भन्दै १३ गते सचिवालय बैठक राख्न सहमति जनाएको थियो।

तर ओलीले भनेका थिए, ‘यो आरोप या त सदर ठहरिनु पर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्‍यो। यो आरोप सहि ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु पर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो।’

उक्त बैठकमा नेता पोखरेलले प्रचण्डको आरोपको बुँदागत रुपमा जवाफ दिने बताएका थिए। ओलीले नेता पोखरेलसँगै आफू निकट प्रभावशाली नेताहरुलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएका थिए।

यो बीचमा पार्टी एकता रक्षाका लागि ओली पक्षले प्रचण्डलाई आफ्नो राजनीतिक प्रस्ताव फिर्ताका लागि दबाब दिएपनि प्रचण्डले त्यो फिर्ता नगर्ने अडान लिइरहे। र, त्यसलाई ‘बुकलेट’का रुपका प्रकाशित गरी राष्ट्रव्यापीरुपमा वितरणको अभियानको थालनी गरिकसकेका छन् उनले। यो प्रस्ताव फिर्ता गरेमा आफू ओलीसँग झुकेको ठहरिने प्रचण्डको बुझाइ छ।

यो बीचमा ओली पक्षबाट प्रचण्डले राजनीतिक प्रस्तावको जवाफ दिइसकेपछि दुबै अध्यक्षको साझा प्रस्ताव आएको खण्डमा मात्रै पार्टी फुटबाट जोगिने दबाब पनि प्रचण्डमाथि परेको छ।

प्रचण्ड पक्षका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु सहमतिको प्रयासमा रहेको, सहमतिका लागि अन्तिमविन्दुसम्म कोशिस गर्ने, सहमति नभएमा पार्टी निर्णयविहीन भएर नबस्ने बताएका छन्।

यता सहमतिका लागि प्रयास भइरहेका बेला प्रचण्ड पक्षले एकतर्फी रुपमा सचिवालय बैठकमा पेश भएका आफ्ना राजनीतिक प्रस्ताव, जवाफी पत्र र बैठक बस्न अनुरोध गर्दै लेखिएको पत्र समावेश गरी ‘बुक लेट’का रुपमा राष्ट्रव्यापी रुपमा पठाउन थालेपछि ओली पक्षले त्यसलाई पार्टी विभाजनको रुपमा अर्थ्यायाएकाे छ।

नेता पोखरेलले यो कार्यलाई अनाधिकृत कार्य भनेका छन्। उनले भने, ‘छलफल र बहस भइरहेको छ। यस्तो बेला मेरो मात्रै पार्टी हो भन्ने सन्देशका साथ आफ्ना पत्रहरु मात्रै सर्कुलेट गर्नु गलत हो, यसको पनि हामी जवाफ माग्ने छौँ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय