बैतडी : मंसिर १७, बैतडीमा विवाद मिलाउन प्रहरी चौकी पुगेको युवाहरुबीच झडप भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको प्रहरी चौकीमा विवाद मिलाउन पुगेका दुई समुहबीच झडप हुँदा एक युवक घाइते समेत भएका छन् ।
उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । मंगलबार बैतडीको गणमेश्वर मन्दिरमा मेला लागेको बेला एक युवती जिस्काएपछि दुई समुहबीच झगडा भएको र सोही झगडा मिलाउन उनीहरुलाई प्रहरी चौकीमा बोलाइएपछि उनीहरुबीच पुन झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार झडपका कारण प्रहरी चौकीमा समेत सामान्य क्षति भएको छ । घटनाको सम्बन्धमा छलफलका लागि चौकी बोलाउदा उनीहरुबीच नै झडपका साथै चौकीमै तोडफोडको प्रयास भएपछि उनीहरुलाई दुवै पक्षका ५ जनालाई जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइएको प्रहरीको भनाइ छ । घटनाका दादेसीमाथि कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।
उता झडपमा परि गम्भीर अवस्थामा रहेका युवको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । उनको टाउको र ढाडमा चोट लागेको बताइएको छ । गभ्भीर घाइते भएका युवक पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।