१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

नेकपा सचिवालय बैठक : घुमी फिरी रुम्झाटार, स्थायी कमिटीमा ओलीलाई कारबाही गर्ने तयारी



काठमाडौं : मंसिर २१, सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठक पनि घुमी फिरी रुम्झाटार भने झै निष्कर्षवीहिन बनेको छ । बैठकमा अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न सुझाव दिएपछि अध्यक्ष ओलीले सचिवालयको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका छन् । 

‘स्थायी समितिमा जाने भनेको के हो ? के स्थायी समितिमा रत्यौली खेल्न जाने हो ?’, ओलीको प्रश्न थियो । ‘आजपनि तपाईंहरुले बल प्रयोग गरेर बैठक भएको हो । यो बैठकमा बल प्रयोगकै हो । अव त्यो स्थायी समिति पनि बल प्रयोगकै हुने हो’, ओलीको आक्रोश थियो । ओलीले आफुलाई बहुमतका आधारमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने तयारी देखेपछि सचिवालयबाटै सहमति गरेरमात्र स्थायी समितिको बैठक बोलाउनु पर्ने बताएका थिए ।

नेता नेपालले अध्यक्ष ओलीले अहिले पनि आफूलाई सुपरम्यान ठान्ने गरेको भन्दै त्यस्तो प्रवृति त्याग्न सुझाव दिएका थिए । ‘अहिले पनि तपाई अझै आफुलाई सुपर म्यान ठान्नुहुन्छ । यस्तो गर्न छोड्नुस्,’ नेता नेपालको भनाइ थियो । अध्यक्ष ओलीले स्थायी समितिमा गएर रत्यौली खेल्ने ? भनेर प्रश्न गरेपछि वामदेवले जवाफ दिँदै त्यस्तो घमण्ड नगर्न चेतावनी दिएका थिए । 

‘तपाईंमा पनि ठुलो घमण्ड छ, तपाईका सल्लाहकारहरु पनि त्यस्तै छन् । तपाईंका सल्लाहकारहरु यस्ता छन् कि उनीहरु जहाँ गए, त्यही सखाप पार्छन् । त्यस्ता सल्लाकारहरु परिवर्तन गर्नुस्’, गौतमले सुझाव दिँदै भनेका थिए, ‘पार्टीमा संकट आएका बेला तपाईंका सल्लाहकारहरु जथाभावी बोल्दै हिडेका छन् । जसले झन् समस्या पैदा गरेको छ ।’

शनिबारको बैठकमा ओली र इतर पक्षको बीचमा झण्डै ३ घण्टा गलफती भएपछि आइतबारको स्थायी समिति बैठकमा ओली र प्रचण्ड दुबैको प्रस्तावमाथि छलफल हुने बताइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने छ ।

मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो । नेकपाकै नेताहरुले विवाद फुटउन्मुख भएको बताउन थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय