काठमाडौं : पौष ३, प्रहरीले उखु किसानको पैसा नतिर्ने उद्योगीविरुद्ध सर्छ अपरेसन चलाएपछि उद्योगीहरुको भागाभाग भएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले मंगलबार चिनी उद्योगी पक्रने निर्णय गरेपछि प्रहरीले काठमाडौंमा ‘सर्च अपरेशन’ चलाएको छ । तर, तीन दिनदेखि एकजना पनि चिनी उद्योगी पक्राउ गर्न सकेको छैन ।
बुधवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह आफ्नो टोली लिएर शंखमुल पुगे । त्यहाँ एउटा घरमा प्रहरीले सर्च गरेको थियो । चिनी उद्योगी लुकेको आशंकामा छापा मारेपनि त्यहाँ उद्योगी फेला नपरेपछि एसएसपी सिंह रित्तो हात फर्किए ।
चिनी मिल्स संचालकले करोडौं बक्यौता रकम नतिरेपछि उखु किसानहरु काठमाडौंमा भेला भएका छन् । उनीहरुले माईतिघरमा दैनिक प्रदर्शन जारी राखेका छन् भने त्यसले सरकारमाथि चर्को दवाब सिर्जना भएको छ । ‘कम्युनिष्ट’ सरकारको पालामा किसानहरु पीडित बन्नुपरेको घटनाले सरकारविरुद्ध जनमानस तथा बौद्धिक वर्गहरुले समेत आलोचना गर्न थालेपछि बल्ल सरकारले उद्योगीलाई कस्न शुरु गरेको छ । ‘किसानमारा’ चिनी उद्योगीहरुलाई पक्रने निर्णय सरकारले गरिसकेको छ ।
‘चिनी उद्योगी खोजिरहेका छौं’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीसँग भने–‘अहिले सम्म फेला पार्न सकेका छैंनौं, नियन्त्रणमा लिने प्रयास जारी छ ।’
प्रहरीको धरपकड शुरु गरेपछि श्रीराम सुगर मिल्सका संचालकले ३५ करोड रुपैयाँ जम्मा गरेका छन् । सो रकम जिल्ला प्रशासन कार्यालयको रोहबरमा शुक्रवारबाट किशानलाई वितरण गरिँदै छ ।