काठमाडौं : पौष ५, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री जाने, नजाने टुङ्गो लागि नसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ । आजै ओली–प्रचण्डबीच छलफल भएर नयाँ समझदारी बनेमात्र ओली बैठकमा उपस्थित हुने ओली निकटका नेताहरू बताउँछन् ।
पुस १ गतेको बैठकमा संवैधानिक परिषद्को काम, कर्तव्य अधिकार, बैठकसम्बन्धि कार्यविधि संशोधन गर्ने अध्यादेश र राष्ट्रपति कार्यालय पुगेको संसद्को विशेष अधिवेशन बोलाउन माग गरिएको निवेदन फिर्ता लिने समझदारीपछि ओली बैठकमा आउन राजी भएका थिए । ओली पक्षले प्रचण्डले बैठकमा पेस गरेको प्रस्ताव पनि फिर्ता लिने विश्वासमा बैठकमा आएको बताउँदै आएको छ । प्रचण्ड प्रस्ताव फिर्ता लिन राजी नभएकाले अध्यादेश फिर्ता गर्ने पुस १ गतेको स्थायी कमिटी बैठकको निर्णय पनि कार्यान्वयन भएको छैन । त्यसैले आजको बैठकमा ओली सहभागी हुने–नहुने अनिश्चित बनेको नेताहरू बताउँछन् ।
शनिबारै ओलीले पार्टीभित्र तीव्र अन्तरविरोध देखिएपछि मध्यमार्गी धारको प्रतिनिधित्व गरिरहेका सचिवालय सदस्य तथा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलसमेतलाई भेटेका थिए । बादललाई प्रधानमन्त्री ओलीले साझा प्रस्तावको तयारी गर्न भनेका थिए । तर, गृहमन्त्री बादलबाट मूर्त जवाफ पाउन नसकेको स्रोत बताउँछ । गत पुस २१ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकले अघिल्लो नियति बेहोर्ने हो कि भन्ने आशङ्का बढेको छ । नेताहरूबीच समझदारी नहुँदा बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । अघिल्लो बैठक पनि कार्यसूचीमा प्रवेश नगरी अरू नै विषयमा अलमलिएको थियो ।
स्थायी कमिटी बैठकमा पेस भएका सबै लाञ्छनापत्रहरू फिर्ता लिनुपर्ने ओलीको अडान र छलफल गर्नुपर्ने प्रचण्डको अडानको चेपुवामा स्थायी कमिटी बैठक छ । ओली पक्षले भने बाहिर सहमति खोजेर बैठकमा जानुपर्ने नत्र ‘रत्यौली खेल्ने थलो’का रूपमा परिणत हुने बताउँदै आएको छ । उनीहरूले बैठक थप केही दिन लम्ब्याउनुपर्ने बताउँदै आएका छन् । यसोगर्दा केही नेता आफूतिर तान्न सकिने सम्भावना पनि उनीहरूले देखेका छन् । शुक्रबारको भेलामा अध्यक्ष प्रचण्डले अबको दस–बाह्रदिन निर्णायक हुने बताउनुले पनि सत्तारुढ नेकपा विवाद नयाँ मोडमा पुगेको मान्न कठिन हुँदैन । प्रचण्डको भनाइलाई आधार मान्ने हो भने, अब दस–बाह्रदिनमा नेकपाभित्र कि सहमति हुन्छ, नभए पार्टीले फुटको बाटो तताउँछ ।