काठमाडौं : पौष ८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले पार्टी अध्यक्ष रहेका अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो समुहका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो । संसदीय दलको नेता बनेपछि यदि सर्वोच्च अदालतले संसदलाई भंग गर्ने सरकारको निर्णय खारेज गरे प्रचण्डलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला भएको छ।
संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए ।
संसदीय दलको नेतामा निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले ठूलो आफूले जिम्मेवारी पाएको भन्दै लामो संघर्षपछि प्राप्त लोकतन्त्र र संघीय संसद जिवित राख्न तथा राष्ट्र र जनताको पक्षमा काम गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने बताए ।
उनले सवैसँग सहकार्य गर्दै नयाँ सरकार गठन गर्नेमा आफ्नो ध्यान जाने पनि बताए ।