काठमाडौं : पौष १०, पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले धोका दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका ओलीले शीतलनिवासमा पुगेपछि अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा सपथ खुवाईएको छ । तर उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् ।
प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयहरुमा आफू निकटलाई राखेका छन् । भने पूर्वमाओवादी पक्षका नेताहरुलाई सानातिना मन्त्रालयको जिम्मा दिइएको छ । मणि थापालाई दिने भनिएको पर्यटन मन्त्रालय यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाललाई दिइएको छ । महामारीमा जनस्वास्थ्यसँग जोडिने स्वास्थ्य मन्त्रालयमा भने यसअघि सामान्य प्रशासन मन्त्री रहेका हृदयेश त्रिपाठीलाई ल्याइएको छ । गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री बनेका छन् त्यस्तै प्रचण्ड–माधव समूहबाट भर्खरै ओली समूहमा लागेका प्रभु साहले शहरी विकास मन्त्रालय पाएका छन् । भूमिसुधार मन्त्री पदमा अर्याल कृषि मन्त्रालयमा सरुवा भएकी छिन् । कानून मन्त्री रहेकी शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छिन् । महिला मन्त्रालय सम्हालेका लीलानाथ श्रेष्ठ कानूनमन्त्री बनेका छन् ।
विगतमा उर्जामन्त्री बनेका बेला लोडसेडिङ हटाउन नसकेका टोपबहादुर रायमाझीले पुनः उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै वनको ठेक्कापट्टासँग स्वार्थ जोडिएको आरोप लाग्दै आएका प्रेम आलेले वन मन्त्रीकै जिम्मेवारी पाएका छन् । अन्तिम घडीमा माधवकुमार नेपाल समूहमा लाग्ने बताएर ओली समूहमै फर्किएका रघुवीर महासेठकी धर्मपत्नी जुलीकुमारी महतो महिला बालवालिका मन्त्री बनेकी छिन् ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई हटाएर उनको ठाउँमा दाबा लामालाई ल्याइएको छ । उद्योग राज्यमन्त्री मोती दुगडलाई पनि हटाइएको छ । दुगडको ठाउँमा विमला विश्वकर्मालाई ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–माधव समूहका ७ मन्त्रीले राजीनामा दिएपछि खाली रहेका मन्त्रालयहरु भागवण्डा गरिएको हो । प्रचण्ड समूहबाट आएको भोलिपल्टै प्रभु साहले मन्त्रालयको जिम्मेवारी पाए । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन् । गौरीशंकर चौधरीले श्रम मन्त्रालयको जिम्मा पाएका छन् ।