९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

टोपबहादुर रायमाझीको अवसरवादी चरित्रको चिरफार



काठमाडौं : पौष १०, माओवादी आन्दोलनले विभिन्न क्षमता भएका नेताहरुको उत्पादन गर्यो । नेपालको दूरदराजमा सीमित प्रतिभाहरुलाई राष्ट्रिय राजनीतिमा स्थापित गरायो । भलै माओवादी आन्दोलनले जुन बर्गका लागि महान दश बर्षे युद्ध गर्यो, आन्दोलनको मूल नेतृत्वले धोका दिएपछि त्यो बर्गलाई राज्यसत्तामा स्थापित गराउन सकेन । तर दश बर्षे जनयुद्धमा नयाँ नयाँ क्षमता भएका युवाहरु राष्ट्रिय रुपमा चर्चित भए । ती नेता मध्येका एक अर्घाखाँची जिल्लाबाट माओवादी आन्दोलनमा उदाएका नेता हुन् टोबहादुर रायमाझी । जनयुद्ध कालभन्दा अघि नै १९ जना केन्द्रीय समितिमा रहेका नेता टोबहादुर रायमाझी डा. बाबुराम भट्टराई गुटका खम्बा मानिन्थे । जनयुद्धको शुरुवाती बेला तत्कालीन माओवादीको युवा संगठन, योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का संयोजक रहेका रायमाझी देश युद्धमा धकेलिएपछि बिदाई भएर पार्टी राजनीति ठोस जिम्मा लिएर फर्किएका थिए ।

जता टोपबहादुर त्यता असफलता

जनयुद्ध शुरु भयो माओवादीले विभिन्न फौजी मोर्चामा भीषण प्रगती गर्यो तर जुन ठाउँमा टोपबहादुर रायमाझीको राजनीतिक नेतृत्व हुन्थ्यो त्यो ठाउँमा माओवादीको फौजी मोर्चाको हार हुन्थ्यो । माओवादीले प्रत्यक्रमणको योजना अगाडी बढाएको बेला टोपबहादुर रायमाझी तत्कालीन माओवादीका गण्डक क्षेत्रीय ब्यूरो इन्चार्ज थिए । साथै जनमुक्ति सेनाका ब्यूरो कमिसार पनि । तर माओवादीले अगाडी सारेको प्रत्याक्रमणको योजना अपेक्षकृत रुपमा सफल हुन सकेन । भीषण युद्धको बेला जनमुक्ति सेनाका कमाण्डरहरुलाई मिलाएर राजनीति गर्नु पर्छ । मरेर राजनीति हुँदैन । बाँचेर राजनीति गर्नु पर्छ । भन्दै युद्ध मोर्चामा नेतृत्व सम्हालेका कमाण्डरहरुलाई मनोबल गिराउन काम गर्ने गरेको माओवादी सेनाका तत्कालीन कमाण्डरहरु बताउँछन् ।

त्यती मात्रै होईन । नेता रायमाझीको नेतृत्व भएको अधिकांश ठाउँमा माओवादीका सैन्यमोर्चा अरु क्षेत्रका भन्दा सापेक्षित रुपमा असफल रहेको तत्कालीन माओवादी कमाण्डरहरु बताउँछन् । पार्टीमा प्रचण्ड र बाबुराम भट्टराईको बीचमा अन्तरविरोध चर्किएको बेला नेता रायमाझी डा. बाबुराम भट्टराईको गुटमा थिए । भट्टराईको छहारीमा आफ्नो राजनीतिलाई सुरक्षित बनाए । जब एमाओवादी शान्ति सम्झौतामा आएपछि पनि भट्टराईकै गुटको कोटाबाट स्थायी समिति सदस्य बने । माओवादीबाट पार्टीबाट तत्कालीन बैद्य नेतृत्वमा ठूलो पङ्ती विभाजन भयो । त्यो बेला पनि रायमाझी बाबुराम भट्टराईको शान्ति र संविधानकै पक्षमा उभिए । षड्यन्त्रपूर्बक लादिएको दोस्रो संविधान सभापछि जब डा. भट्टराईले पार्टी अध्यक्षको दाबी गर्न थाले त्यती बेला रायमाझीले डा. भट्टराईलाई उचाल्नु उचाले । हुँदा हुँदै अर्घाखाँचीमा दोस्रो पटक पनि माओवादीबाट बिदाई भएका रायमाझी अर्को चुनावमा हार्ने डरले बुटवलमा तत्कालीन नेकपा एमालेले गरेको आन्दोलनमा सहभागी हुन पुगे । बुटवलमा एमालेका कार्यकर्तालाई सम्बोधन गरेर काठमाडौं फर्किए । उनको उदेश्य संघीयता भन्दा पनि अर्घाखाँचीमा एमालेका कार्यकर्ताको सहानुभुति लिई चुनावमा जीत सुनश्चित गर्नु थियो । फलस्वरुप आफु एमालेको कार्यक्रममा गएका रायमाझीले पूरै पार्टीलाई नै एमालेमा विलय गराए । संयोग नै भन्नु पर्ला, तत्कालीन एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न नेता रायमाझीले वार्ताकारको भूमिका खेलेका थिए ।

भट्टराईलाई धोका

आजीवन डा. भट्टराईको छहारीमा आफ्नो राजनीतिको रक्षा गरे । जब दोस्रो संबिधान घोषणा भयो, डा. भट्टराईले पार्टी विभाजन गरे । अचम्मको कुरा त के भने देबेन्द्र पौडेललगायतका नेताहरु डा। भट्टराईको नयाँ शक्ति अभियानमा सहभागी भए । तर डा. भट्टराईका विश्वास पात्र रायमाझीले धोका दिए । रायमाझीले चुनावी ब्यारोमिटर नापेका थिए । भट्टराईको पार्टीमा जाँदा चुनाव हारिन्छ । मन्त्री बनिदैँन भन्ने डरले बाबुरामलाई जिल ख्याए । रायमाझीले आफ्नो नेता भट्टराईलाई कसरी धोका दिए भन्ने डा. भट्राईको पुस्तक अबिराम बाबुराम पढ्दा प्रष्ट बुझ्न सकिन्छ । त्यती मात्रै होईन, भट्टराई गुट त्यागेपछि रायमाझीले उर्जासहित उपप्रधानमन्त्रीको पद प्राप्त गरे । तर हप्तामा ९३ घण्टा लोडसेडिङ रहेको बेला उर्जा मन्त्रालयमा सुधारका काम त छोडौ माखो नै मार्न सकेनन् ।

५० हजार युवाहरुलाई रोजगारी दिने घोषणा

त्यसपछि बाम गठबन्धनबाट अर्घाखाँचीमा चुनाव लडे । विजयी बने तर चुनावमा गरेका बाचा पुरा गरेनन् । अर्घाखाँचीको डिभर्नामा केबुलकार बनाउँछु भनेर भोट मागेका रायमाझी अहिले गाउँमा पुग्दा लुकेर हिड्ने गरेको स्थानीय नेताहरु बताउँछन् । त्यस्तै आफुले चुनाव जिते ५० हजार युवाहरुलाई रोजगारी दिने घोषणा पत्रमै उल्लखे गरेका थिए तर अहिले प्रश्न सोध्दा सयौँ युवाहरुले गाउँमै ट्याक्सी चलाएका छन् । हजारौँ युवाहरु बिदेश गएर श्रम गरिरहेका छन् । आफुले हजारौँ युवाहरुलाई रोजगारीको संभावनाको पथप्रदर्शकको भूिमका खेलेको जस्तो हास्यास्पद कुरा गर्ने गर्दछन् ।

जिल्लामा दादागिरी

नेता रायमाझीले अर्घाखाँचीमा करोडौंको बजेटमा रहस्यात्मक भूमिका खेलेको स्थानीयहरु बताउँछन् । अर्घाखाँचीका विकासका बजेटमा रायमाझीले हस्तक्षेप गर्ने गरेको स्थानीय राजनीतिक दलका नेताहरु गुनासो गर्छन । आफ्ना कार्यकर्तालाई दाम्लो चुँडाएको साँडे झै मानोमानी ढंगले विभिन्न बजेटमा हस्तक्षेप गर्न पठाउने गरेको अर्घाखाँची कांग्रेसका नेताहरु गुनासो गर्छन । त्यस्तै अर्घाखाँचीको पाणिनिको एक माध्यमिक बिद्यालयको जग्गालाई जिल्ला सिडिओ, गाउँपालिका अध्यक्षसँग मिलेर तराईमा रहेको जग्गासँग साटफेर गरी करोडौं लुटने योजना बनाएका रायमाझी समाजवाद डटटिभीले समाचार प्रकाशित गरेपछि ब्याक हटेका थिए । त्यस्तै नेता रायमाझीले अर्घाखाँचीमा रहेका सिमेन्ट खानीहरुबाट पनि बेला बेलामा मोटो रकम असुल्ने गरेको सरकारी नेकपाकै स्थानीय नेताहरुको आरोप छ । तर यस बिषयमा पुष्टि गर्ने कुनै ठोस आधारहरु भने भेटिदैनन् ।

अब पालो ओली समूहको विघटन गर्ने ?

जता टोपबहादुर लाग्छन् त्यो गुटको आरालो यात्रा शुरु हुने माओवादी नेताहरु बताउँछन् । डा. भट्टराईको माओवादी आन्दोलनमा उचो शीर थियो । तर टोपबहादुर रायमाझी, देबेन्द्र पौडेल र राम कार्की जस्ता नेताहरुले डा. भट्टराईलाई तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड बिरुद्ध उचाले, त्यसपछि प्रचण्ड र बाबुराम भट्टराईको अन्तरविरोध बढेको ठानिन्छ । त्यस्तै प्रचण्ड र डा. भट्टराईको गुटमा रहेको बेला बैद्यले र्पाी विभाजन गरेपछि तत्कालीन एकीकृत माओवादीको आरालो लाग्यो । डा. भट्टराईले पार्टी विभाजन गरेपछि रायमाझी प्रचण्ड गुटमा लागे प्रचण्ड नेतृत्वको पार्टी पनि ओरालो लाग्यो । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपछि पनि रायमाझी ओली समूहतिर लागेका छन् । ओलीले रोजेको बाटो सही नभएको भन्दै सडकमा दिनानुदिन प्रदर्शन भईरहेको छ । तर ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । ओलीको मन्त्रिपरिषद्को उर्जामन्त्री बनेका छन् टोपबहादुर रायमाझी । टोपबहादुरलाई पूर्वमाओवादीहरुले गलगाँडको संज्ञा दिने गरेका छन् । पूर्वमाओवादीहरु भन्छन्, जता टोपबहादुर त्यता क्षयीकरण । डा. बाबुराम भट्टराई, प्रचण्ड र अहिलेको ओली समूहको पनि त्यही दुर्गती हुने जानकारहरु बताउँछन् । ओली समूहको क्षयीकरण भए टोबहादुर रायमाझी आफ्नो समूहमा फर्किने प्रचण्ड नेपाल पक्षको आँकलन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !