काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर पनि सरकारले उनीहरुको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन । यो बीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेकोभन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरुको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने किसानहरु बताउँछन् ।
हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर विगत १५ दिनदेखि उखु किसानहरु आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् । विगत सात वर्ष देखिको भुक्तानी मिल सञ्चालकहरुले नदिएपछि किसानहरु निर्णयक आन्दोलन गर्न भन्दै काठमाडौं आएका हुन् ।
गत वर्ष पनि उनीहरुले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिना भित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्ष सम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौंआई आन्दोलन गरिरहेका छन् ।१५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुनेझैं गरी बसिरहेको छ ।