१३ मङ्सिर, कैलाली । कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्करको समूहबाट हत्या भएको थियो ।
उक्त घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सोमबार सार्वजनिक गरेको छ । केराउ तस्करी गरिरहेको बेला पक्राउ गर्न खोज्दा तस्करहरुको समूहबाट २ प्रहरीको हत्या भएको थियो ।
घटनाको २ महिनापछि कैलाली फूलबारीबाट राना पक्राउ परेका हुन् । घटनापछि मुख्य योजनाकार राना भारततर्फ भागेको प्रहरीको भनाइ छ । उनी आइतबारमात्र नेपाल प्रवेश गरेका थिए ।
मुख्य योजनाकार भनिएका राना यसअघि पनि अवैध ढङ्गबाट सामान तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करी गर्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रमुख प्रहरी उपरीक्षक जबराले बताए ।