काठमाडौं : पुष २४, भारतमा बर्डफ्लु देखिएपछि नेपाल सरकारले तत्कालका लागि कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक लगाएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ । विगत १ सातादेखि भारतका हिमाचल प्रदेश, केरलालगायत विभिन्न राज्यमा हजारौं संख्यामा चरा तथा हाँसहरू मर्न थालेपछि नेपालमा पनि सर्तकता स्वरूप यस्तो कदम चालिएको हो ।
बर्ड फ्लु भित्रिन नदिन काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र गड्डाचौकीका पशु क्वरेण्टीन कार्यालयले जाँच गर्न थालिसकेको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सूचना जारी गर्दै कुनै पनि पक्षी तथा मासुजन्य वस्तुहरू देशबाहिर निर्यात तथा आयात गर्न बन्द गरिएको बताएको छ । त्यसका लागि काँकडभिट्टादेखि गड्डाचौकीसम्मका क्वारेन्टाइन स्थलहरूलाई निर्देशन दिइएको छ ।
मन्त्रालयले पशु सवास्थ्य तथा पशु सेवा ऐन २०५५ बमोजिम हालका लागि आयात निर्यात बन्द गरेको मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले बताएउनुभयो । यदि कसैले अवैध रूपमा मासुजन्य वस्तु भित्र्याएको पाइएमा बर्डफ्लु रोग निर्देशिका आदेश २०६४ बमोजिम कारबाही हुने उहाँले जानकारी दिनुभयो। यस्तै देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले किसानलाई आग्रह गरेको छ ।