एजेन्सी : पुष २६, प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।
सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्रै सिर्जना गर्ने ब्यक्तिका कारण अहिलेको समय आएको बताए । बहुमतलाई खण्डित गर्ने र ध्वस्त पारेर अनुचित गठजोडमा लाग्ने काम भएको प्रधानमन्त्री ओलीको तर्क छ । प्रधानमन्त्री ओलीले संसदलाई समेत काम नगर्ने थलो बनाउन खोजेको र सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोगका कारण पनि प्रतिनिधिसभालाई निरन्तर दिन नसकेको दाबी गरे ।