
काठमाडौं, ७ माघ । रुकुम पश्चिममा नेपाली कांँग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएको छ ।जिल्लाको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा स्थानीय युवा बीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।
झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन् ।
उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।
स्थिति नियन्त्रणबाहिर जान नदिन राडीबजारमा अनश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि कफ्र्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाएको हो ।