एजेन्सी : माघ ८, चीनले अमेरिकी पूर्वविदेशमन्त्री माईक पोम्पियोसहित २८ जनामाथि प्रतिबन्धको घोषणा गरेको छ । पछिल्ला केही वर्षदेखि अमेरिकाका केही चीन विरोधी राजनेता आफ्नो स्वार्थी राजनीति हित र पूर्वाग्रहका कारण चीनविरुद्ध हिंसा फैलाइरहेको चीनको विदेश मन्त्रालयले आरोप लगाएको छ । चीनले आफ्नो आन्तरिक मामिलामा दखल दिने र चीनको हितलाई नजरअन्दाज गर्ने र चिनियाँ जनतालाई रुष्ट पार्दै चीन–अमेरिका सम्बन्धलाई बिगार्ने २८ अमेरिकीहरुलाई प्रतिबन्धका घोषणा गरेको हो ।
चिनियाँ सरकार चीनको राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकासको हितका लागि दृढ संकल्प छ । चीनले ती २८ मानिसहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ जसले अत्यधिक गम्भीर तरिकाले चीनको सम्प्रभुताको उल्लंघन गरेका छन् र चीनसँग सम्बन्धित मुद्दामा अमेरिकाको यस्तो कदमका लागि मुख्य रुपमा जिम्मेवार छन् चीनले भनेको छ ।
चीनले प्रतिबन्ध गरिएका ती मानिसहरुको नाम पनि सार्वजनिक गरेको छ । यसमा माइकल आर. पोम्पियो, पिटर के. नेवेरो, रोबर्ट सी. ओब्रायन डेविड आर. स्टिलवेल, म्याथ्यू पोटिंगर, एलेक्स एम, अजर, कीथ जे. क्रेच, केली डी.के. क्राफ्टबाहेक ट्रम्प प्रशासनमा रहेका जोन बाल्टन र स्टिफन बेनन पनि समावेश छन् । चीनले आफ्नो बयानमा भनेको छ, ‘उनीहरु र उनीहरुका परिवारका सदस्यलाई चीनको मुख्य भूमि, हङ्गकङ र मकाउ अफ चाइनामा आउन प्रतिबन्ध लाग्नेछ र उनीहरुसँग जोडिएका मानिसहरु र उनीहरुसँग जोडिएका कम्पनी–संस्थानमाथि पनि चीनमा व्यापार गर्न प्रतिबन्ध हुनेछ ।’