Sunday, October 6, 2024

ट्रेन्डिङ :

राणा शासनका बिरुद्ध प्राणको आहुति दिनेहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु

काठमाडौं : माघ १०, जहाँनिया राणा शासनको विरुद्धमा संघर्ष गरेका चार अमर शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । शहीदहरुको सम्झनामा काठमाडौँ महानगरपालिकाले आजदेखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तालिकाअनुसार आज बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी सप्ताहको शुभारम्भ गरिँदै छ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सप्ताहको अन्तिम दिन माघ १६ गते सहिद दिवस मनाइन्छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?