काठमाडौं : माघ १३, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनले आर्थिक क्रियाकलाप बढ्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।
उनले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरे । पौडेलले भने, ‘निर्वाचनमा हुने खर्चलाई कतिपयले फजुल खर्चको रुपमा चित्रण गरिरहेका छन् । तर म त्यस्तो ठान्दिनँ किनभने पहिचाको रुपमा खर्च हुँदा पनि स्वाभाविक रुपमा आर्थिक क्रियाकलापमा पनि सहयोग पुग्छ । निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने पौडेलले बताए । ‘निर्वाचनको लागि केही म्यादी प्रहरी खटाउछौँ, उनीहरुले केही सयमको लागि भए पनि रोजगार पाउछन् । बजार अलि चलायमान हुन्छ । आर्थिक क्रियाकलापमा त्यसले केही सहयोग नै गर्छ पौडेलले भने ।
निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्यो भन्ने बुझाई गलत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभएको छ ।