काठमाडौं : माघ १४, देशका ७५३ स्थानीय तहमध्ये १ सय ३१ गाउँका सिंहदरबार निमित्तकै भरमा घस्रिरहेका छन् । जसमध्ये एक महानगर र पाँच उपमहानगरसहित १ सय २५ भन्दा बढी गाउँका सिंहदरबार प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पर्साको वीरगन्ज महानगरपालिका, दाङका तुलसीपुर र घोराही, बाराका कलैया र जितपुरसिमर अनि कैलालीको धनगढी उपमहानगरपालिका निमित्तकै भरमा चलिरहेका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोग पास गरेर आउनेलाई पहिलो प्राथमिकतामा राखी स्थानीय तहमा पठाउने तयारी रहेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा जनप्रतिनिधिलाई मनपरी गर्न सहज भइरहेको जनाइएको छ । स्थानीय तहकै पुराना कर्मचारीलाई निमित्त राखेर उनीहरूले आफूअनुकूल खर्च गर्ने गरेका छन् । विशेषगरी प्रदेश २ का स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत नपठाई दिनू, फलानोलाई निमित्त दिनुस्’ भनेर जनप्रतिनिधि डेलिगेसन आउने गरेको मन्त्रालय स्रोत बताउँछ ।