१४ मंसिर २०७९, बुधबार
 |   Wed Nov 30 2022
Logo

सुरक्षाकर्मी कटौतीप्रति पूर्वराजा ज्ञानेन्द्रको चासो व्यक्त



काठमाडौं – सरकारले भीआईपी तथा पूर्वपदाधिकारी र कर्मचारीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कटौती गर्ने निर्णय गरेको छ । सोही निर्णयपछि आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीको कटौतीपछि पूर्वराजा ज्ञानेन्द्रले चासो व्यक्त गरेका छन् । मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त्री, पूर्व प्रधानन्यायाधीश लगायतका विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो । सोही कार्यविघिअनुसार पूर्वराजपरिवारको सुरक्षामा खटिएका ४० जना सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो ।

त्यसअघि ज्ञानेन्द्रको सुरक्षामा एक कमाण्डरसहित ५६ सुरक्षाकर्मी खटिदै आएको थियो । अब ज्ञानेन्द्रको सुरक्षामा एक कमाण्डरसहित १६ सुरक्षा कर्मी मात्र रहने छन् । पूर्वराजा ज्ञानेन्द शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले गृह मन्त्रालयलाई एक पत्र लेख्दै नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

उनले पत्रमा पूर्व राजपरिवारका लागि ९९ जना सुरक्षाकर्मी चाहिने विवरण समेत पेश गरेका छन् । जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले सोही अनुसार मन्त्रीपरिषद्को निर्णयलाई पुर्नविचार गर्न आग्रह गरिएको छ ।

स्वीकृत नयाँ कार्यविधि अनुसार पूर्वराष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन् । यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: