काठमाडौं : फागुन ६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा कर्मचारी समायोजनका लागि मिलान सिफारिस समिति गठन गरेको छ । स्वास्थ्य सेवा कर्मचारी समायोजन मिलान व्यवस्थाअनुसार काम गर्नका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको हो । त्यस्तै समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख सह सचिव दामोदर रेग्मी, कानुन शाखाका उपसचिव मानबहादुर क्षेत्री र कर्मचारी प्रशासन महाशाखाका उपसचिव सदस्य रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको कर्मचारी समायोजन तथा मिलानसम्बन्धि मापदण्डमा टेकेर गत २९ माघको मन्त्रिस्तरीय निर्णयबाट समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग निवेदन माग गरेको छ । ती कर्मचारीले १ फागुनदेखि १६ फागुनभित्रमा तोकिएको मापदण्ड पूरा गरी अनलाइनबाटै निवेदन दिन सक्नेछन् । प्रक्रिया नपुगेकाको समायोजन मिलान रद्द गर्ने, पुरानो दरबन्दीमा रहेको तर नयाँमा जाने अवस्था नभएकोलाई रद्द गर्ने अधिकारसमेत समितिलाई दिईएको छ । स्वास्थ्य सेवामा २९ समूह, ४४ विधा गरी ३२ हजार कर्मचारी कार्यरत छन् ।