
काठमाडौं : नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको आज ७२ वर्ष पुगेको छ । नेपालमा वि. सं. २००६ साल वैशाख ९ गते अर्थात आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको पहिलो कम्युनिष्ट पार्टीको रुपमा भारतको कलकत्तास्थित श्यामबजारमा गठन भएको कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । त्यस्तै संस्थापक सदस्यहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठलगायतका नेताहरु रहनुभएको थियो । पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिनुभएको थियो ।
नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी र तेस्रो महासचिव तुलसीलाल अमात्य बन्नुभएको थियो । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो । तर तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पन्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भएको थियो । यसपटक भने कोरोना संक्रमणका कारण कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।