काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्न काग्रेस सभापति शेरबहादुर देउवा पनि अन्तत सहमत भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका हुन् । बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएको बताए । ७ गते संसद बोलाएको अवस्थामा ६ गते नै चालु अधिवेशन अन्त्य गरिएको छ, यो बेइमानी काम भयो । तर, प्रक्रियागतरुपमा अविश्वासको प्रस्ताव दर्ता गराइन्छ ।
यसअघि काँग्रेसको संस्थापन पक्ष अविश्वासको प्रस्ताव अगाडि बढाउने पक्षमा थिएन । काँग्रेस उच्च स्रोतका अनुसार बुधबारको बैठकमा भने सभापति शेरबहादुर देउवाले दुईरतीन दिनभित्रको राजनीतिक घटनाक्रम हेरेर अविश्वासको प्रस्ताव अगाडि बढाउन तयार रहेको बताए । बैठकमा काँग्रेस नेताहरुले आगामी राजनीतिक घटनाक्रमबारे विश्लेषण गरेका थिए । दुई–तीन दिनमै एमालेमा ओली पक्ष र खनाल–नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने बूढानीलकण्ठ बैठकको विश्लेषण छ ।
विभाजनको डिलमा पुगेको एमालेमा एक अर्काको तेजोवध गर्ने ओली र खनाल–नेपालको रणनीतिले नयाँ सरकार निर्माणका लागि सहजता प्रदान गर्ने काँग्रेसको बुझाइ छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोमा बढ्दो ओली मोहले पार्टी विभाजनको खतरा पैदा भएको छ । सो पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने ओलीसँग जानुभन्दा पार्टी विभाजन गरेरै भए पनि नयाँ सरकार बनाउन तयार रहेको कांग्रेसको बुझाई छ ।
ओलीविरुद्ध अब अविश्वासको प्रस्ताव ल्याउन ढिलो गर्न नहुने भन्दै त्यसको तयारी भइरहेको पौडेलको भनाइ थियो । ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई उल्ट्याएदेखि नै देउवालाई सरकार निर्माणको अग्रसरता लिन दबाब बढेको थियो । तत्कालीन नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले नै देउवालाई प्रधानमन्त्रीका लागि अग्रसर हुन आग्रह गरेका थिए । सोही दिन देउवाले जसपा शीर्ष नेतृत्वसँग संवाद गरेका थिए । त्यसपछि भने देउवाले खासै चासो दिएनन् । तर पौडेल–सिटौलाको जोडबलमा २० चैतको केन्द्रीय समिति बैठकबाट आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय काँग्रेसले गरेको थियो ।
जसपाका ठाकुर–महतो पूर्णरुपमा ओलीतिर ढल्किए भने यादव–भट्टराई ओली इतर गठबन्धन बनाउन कस्सिए । अनि २९ चैतमा यादव–भट्टराई देउवा भेट्न बूढानीलकण्ठ पुगे । सोही दिन राति देउवा, प्रचण्ड र नेपालबीच गोप्य वार्ता भयो । गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता हुँदा कर्णाली प्रदेशमा काँग्रेस र नेपाल पक्षको सहयोगमा माओवादी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरिसकेको छ । प्रधानमन्त्री ओलीले भने नेपाल पक्षका २७ जना सांसदमाथि कारबाहीको डण्डा बर्साउने तयारी थालेको देखिन्छ । यसैवीच बुधबार साँझ ओली र माधव नेपालबीच मेरियट होटलमा अकस्मात छलफल भए पनि छलफलको भित्री कुरा बाहिर आइसकेको छैन ।