
धनगढी : भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गरेका कोरोना संक्रमित तीन भारतीय नागरिक एम्बुलेन्सबाटै हामफालेर फरार भएका छन् । सोही क्रममा कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ जना भारतीय नागरिकमाथि शंका लागि एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पाइएको छ । हेल्थ डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाका अनुसार उनीहरु कैलालीको गोदावरी नगरपालिकामा काम गर्न भन्दै त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका थिए । पोजेटिभ रिपोर्ट देखिएका ३ जना भारतको पलिया र लख्खीमपुरबाट आएका हुन् ।
उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा लैजान खोज्दा एम्बुलेन्सबाटै हामफालेर कनरी जंगल हुँदै भागेको ठकुल्लाले बताए । उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन पुलको वारीतर्फ नै एम्बुलेन्स रोकेको समयमा ती संक्रमित भागेका हुन् । त्रिनगर भन्सार नाकाबाट बुधबार र बिहीबार मात्र एक हजार ४६५ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये ७८५ जनाको एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पोजेटिभ देखिएको ठकुल्लाले बताए । उनका अनुसार संक्रमित हुनेमा १० जना महिला र १०९ जना पुरुष छन् ।