काठमाडौं । सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । ५० शय्याको अस्पतालमा अहिले ३८ जना उपचाररत छन् । तीमध्ये तीनजनालाई भेन्टिलेटर र १० जनालाई आइसियूमा राखेर तथा १० जनालाई अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको छ । अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन् । डेढ सातायता अस्पतालमा उपचाररत दुईजनाको मृत्यु भइसकेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अहिले दैनिक १० जनासम्म संक्रमित भर्ना हुन आइरहेको बताए । गत फागुन अन्तिम सातासम्म अस्पतालमा बिरामीको संख्या शून्य थियो । चैत दोस्रो सातायता भर्ना हुन आउने संक्रमितको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । त्यसयता सयजना संक्रमित भर्ना भइसकेका छन् ।
प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा संक्रमित दर पनि बढेको छ । परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको सूचना अधिकारी श्रेष्ठले बताए । अहिले जिल्लाभर तीन सय ३८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ८६ जनालाई धनगढीको कनरीस्थित आइसोलेसनमा राखिएको छ । बाँकी होम आइसोलेसनमा छन् ।
कैलालीमा सेतीको कोरोना अस्पतालमा ५०, टीकापुर अस्पतालमा १२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच आइसोलेसन बेड छन् । विद्यालय र सार्वजनिक भवनमा समेत गरी जिल्लाभरि साढे तीन सय आइसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।