
उपत्यकामा शुक्रबारदेखि सवारी आवागमनमा थप कडाइ हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सरकारले बिहीबारदेखि निषेधाज्ञाको घोषणा गरे पनि सर्वसाधाणले पूर्णरूपमा नियमको पालना नगरेको कारण थप कडाइ गर्न लागिएको हो ।
उपत्यका आवत–जावत गर्न सार्वजनिक सवारी साधनलाई पूर्णरूपमा प्रतिबन्द लगाउने भनिए पनि बाहिरी जिल्लाबाट यातायात आउने क्रम नरोकिएको प्रवक्ता दाहालको भनाइ छ । उनले भने, ‘रात्रीबसमा आएर बाटोमा अलपत्र हुने यात्रुलाई समस्या नहोस् भनेर हामीले आजका लागि उपत्यका प्रवेश गर्न दिएका छौं । तर, भोलिबाट भने तोकिएका भन्दा बाहेक सवारी साधनलाई प्रवेश गर्न दिँदैनौं ।’
बिहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले सर्वसाधारणमा अन्योलता रहेर सरकारले तोकेका मापदण्डहरू पूर्णरूपमा पालना नभएको उनको भनाइ छ ।
सरकारको नियमविपरीत काठमाडौं भित्रिनेले आफैं बुझेर होम आइसोलेसनमा बस्न प्रवक्ता दाहालले आग्रह गरेका छन् । उनले भने, ‘कोरोनाको दोस्रो लहर पहिलोभन्दा बढी घातक भएको कारण हामी आफैं सचेत हुनुपर्छ । सरकारले स्वास्थ्यको ख्याल गर्न सचेत गराएको मात्रै हो ।’
सरकारले विगत एक वर्षदेखि स्वास्थ्यको ख्याल गर्न, साबुन पानीले हात धुन, मास्कको प्रयोग तथा सामाजिक दूरी कायम गर्न आग्रह गरिरहे पनि जनताले बेवास्ता गरेको उनको गुनासो छ । त्यस्तै नियम उल्लंघन गरेर मास्क नलगाई हिँड्नेलाई सुरुमा सचेत गराउने, मास्क वितरण तथा जरिवानासमेत तिर्न लगाउने बताइएको छ । साथै स्वास्थ्य सुरक्षाको विषयमा निरन्तर प्रचार–प्रसार गर्न सञ्चारमाध्यमलाई सुझाव दिएका छन् ।