
काठमाडौं : कोरोना संक्रमित थपिदै गएपछि प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याईएको छ । अस्पताल पूर्ण क्षमतामा सञ्चालन आएसँगै अब भेण्टिलेटरसहित १ सय ८० जनाले एकैपटक सेवा पाउनेछन् । शुक्रबारबाट अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईले अनुगमन गर्दै अब करिब २ सय बिरामीको उपचार एकैपटक गर्न सकिने बताए । ‘यसअघि ३२ शैया आइसीयूसहित ८० शैया मात्रै सञ्चालनमा थियो, ुमुख्यमन्त्री राईले भने ‘अब १ सय ८० शैया भेण्टिलेटरसहित सञ्चालनमा ल्याएका छौँ ।’ संक्रमितको संख्या बढिरहेकाले लक्षण भएकालाई राख्न पूर्र्ण क्षमतामा अस्पताल सञ्चालन भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् ।
कोभिड अस्पतालमा गत वर्षको कोरोना संक्रमण बढेको समयमा शैया विस्तार भएपनि संक्रमणको विस्तार कम भएसँगै त्यसमा अन्य पूर्वाधार जडानको काम हुन सकेको थिएन । अहिले सो कामलाई प्राथमिकता दिदै अन्य उपकरण जडानको काम पनि भएको छ । पहिलेको अस्पताल प्रदेश सरकारले मात्रै स्थापना गरे पनि अहिले सँगै रहेको ब्लकमा नागरिक केयर सेन्टरको सहयोगमा थप शैया राखेर क्षमता बढाइएको हो । नयाँ सबै शैयामा अक्सिजनको पाइप जडान गरि सकिएको छ । अस्पतालका संयोजक बैजनाथ साहका अनुसार अहिलेनै २१ थान भेन्टिलेटरयुक्त शैया पनि सञ्चालनमा आइसकेको छ । अस्पताललाई आवस्यक पर्ने अक्सिजन उत्पादन गर्न अस्पताल परिसरमानै अक्सिजन प्लान्ट राख्ने प्रकृया पनि मन्त्रालयले सुरु गरेको छ । अस्पतालमा आवस्यक पर्ने विद्युतको लागि अस्पताल परिसरमानै नयाँ ट्रान्सफर्मर जडान गरिएको र २ सय ५० केभिएको जेनेरेटर जडानसँगै त्यसको अर्थिङको काम पनि सकिएकाले उपकरण सञ्चालनमा कुनै बाधा नहुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।