Monday, May 19, 2025

ट्रेन्डिङ :

टेकु अस्पतालमा संक्रमित बढ्दै ६८ गम्भीर, १३ जना अतिगम्भीर

spot_img
spot_img

काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल केही दिन अघिमात्रै अस्पताल प्राङ्गणमा कोरोना विरुद्धको खोप लगाउनेको लाइन देखिन्थ्यो । तर, अहिले सङ्क्रमित भएर उपचारका लागि अस्पताल आउनेको भीड देखिन थालेको छ ।

विहीबारसम्म टेकुमा उपचाररत ६८ संक्रमितको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशन डा.सागर राजभण्डारीले बताउनुभएको छ । गोरखापत्र अनलइनसँग कुरा गर्दै उहाँले ६८ जनामध्ये १३ जनाको अवस्था अझ नाजुक रहेको बताउनुभयो । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै उपचारका लागि टेकु अस्पताल पुगेको सङ्ख्या पनि बढ्दै गएको निर्देशक राजभण्डारीले बताउनुभयो ।

‘कोरोना संक्रमित दिनानुदिन बढ्दै छ, अस्पताल आउनेको संङ्ख्यामा पनि वृद्धि भइरहेको छ,’ उहाँले भन्नुभयो,‘उपचारका लागि अस्पताल आउने सङ्क्रमितलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या थपिएको छ ।’ उहाँका अनुसार उपचारका लागि स्वास्थ्यकर्मी तयार रहेपनि स्रोत साधनका अभावका कारण उपचारका समस्या हुने गरेको बताउनुभयो । ‘अस्पतालमा कोरोनाका विरामीको उपचारका लागि बेड क्षमता जम्मा ६० रहेको छ । अहिले त्यसलाई बढाएर ७० पुग्याएका छौं,’ उहाँले भन्नुभयो, ‘अस्पताल सानो छ अझै बेडको अवश्यक पर्छ । तर, राख्ने ठाउँ छैन । हामीले बाहिरै बेड राखेर भएपनि सङ्क्रमित बिरामीको उपचार गरिरहेका छौ ।’

अस्पतालमा उपचारका लागि आउने गम्भीर बिरामीबाहेकका सामान्य बिरामीलाई अन्य अस्पतालसँग समन्वय गरेर बेड खाली भएको ठाउँमा पठाउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा उपचार सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्दै आएको समेत उहाँले बताउनुभयो । ‘यहाँ उपचाररत संक्रमितले उपचारको पैसा पनि तिर्नुपर्दैन, खाना, खाजाको पनि पदैन,’ निर्देशक राजभण्डारीले भन्नुभयो, ‘उहाँहरुलाई हामीले निःशुल्क उपचार गरिरहेका छौ । तर, नयाँ भेरियन्टको कोरोना सङ्क्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपर्ने हुन्छ । अक्सिजन पर्याप्त नहुँदा समस्या भएको छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार विहीबार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा चार हजार ९२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?