काठमाडौं : उत्पादनमूलक उद्योगहरूले गत वर्ष भएको लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रूपैयाँबराबरको छुट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले सहुलियत पाएका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छुटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छुट दिएको जानकारी दिए । उद्योगहरूले पाएको छुट रकम समायोजन गर्ने काम पनि थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् डिमान्ड शुल्कमा दिएको छुट बराबरको रकम शोधभर्ना गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । सरकारले कोरोना संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि करीब ४ महिनासम्म मुलुकभर लकडाउन गरेको थियो ।