काठमाडौं : कोरोना संक्रमणको महामारीबाट आक्रान्त भइरहेका बेला सेयर बजार भने उकालो लागेको छ । आइतबार नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ विन्दुमा उक्लिएको छ। साताको पहिलो दिन आइतबार ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। लकडाउनले सबैतिर ठप्प भइरहेका बेला सेयर बजारमा भने उत्साह देखिएको छ । आइतबार २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । नेप्सेले २७३५.४६ को उचाइ हासिल गरेपछि दुई सातामा २३० अंकले गिरावट आएको थियो।
बजार नियामक निकायहरूको सकारात्मक कदम, नीतिगत तहमा सुधारका लागि पुँजी बजार फोरमको सक्रियता, लगानीकर्ताहरूको दरो आत्मविश्वासका कारण बजार बलियो बन्दै गएको लगानीकर्ताहरू बताउँछन्। कोरोनाको जोखिमले लगानीका अन्य क्षेत्रहरु संकुचित भएका छन्। बैंक तथा वित्तिय संस्थाहरू तेस्रो त्रैमासिक रिपोर्ट धमाधम निकालिरहेको अहिलेको समय सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। अधिकांश बैंक तथा वित्तिय संस्थाहरूले आकर्षक कमाइको रिपोर्ट ल्याइरहेका छन्। त्रैमासिक रिपोर्टक आधारमा कुन कम्पनीले कति लाभांशा दिन्छ भनेर बजारमा हुने आंकलन र अपेक्षासँगै उत्साह थपिने बेला हो।तीन चार महिना कुर्दा वर्षभरीको कमाइको हिस्सेदार बन्न सकिन्छ। वैशाखदेखि त्यसैपनि सेयर बजार बढ्ने सिजन हो।