
काठमाडौं । उद्योगहरुमा मौज्दात रहेका अक्सिजन ग्यास सिलिण्डिहरु ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रले आग्रह गरेको छ । अहिले कोरोना महामारीका कारण अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि निजी क्षेत्रका तीन ठूला संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सिलिण्डर बुझाउन आग्रह गरेको हो । तिनै संगठनहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्य बाहेकका अन्य प्रयोजनमा अक्सिजन ग्यास सिलिण्डर प्रयोग नगर्न समेत सबै उद्योगीहरुलाई आग्रह गरेका छन् ।
मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासंगै सामाजिक एवम् आर्थिक समस्यासँग जुधिरहेको छ । कोभिड १९ को दोस्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नया रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरु भरिदै गएका छन भने विशेषगरि संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ । सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्छौं, यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चिति नगरि दिन हुन आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरि केहि निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने विषयमा पनि निजी क्षेत्रले मुख खोलेको छ । बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्फ नलाग्ने आफूहरुको विस्वास गरेको महासंघ अध्यक्ष शेखर गोल्छा, सीएनआई अध्यक्ष सतिश मोर र चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।