
नेकपा एमालेका नेता माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेपछि अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेपाल पक्षका सांसदहरूले राजीनामा दिने कुरा आफूले नपत्याउने बताएका छन्।
कोही सांसदले राजीनामा दिनेजस्तो कुरा आफूलाई विश्वास पनि नलागेको उनले बताए।
माधव नेपालहरूले राजीनामा दिन लाग्नुभएको हो भन्ने पत्रकारहरूको प्रश्नमा जवाफ दिएका पौडेलले भने, ‘मलाई विश्वास लाग्दैन। म त्यो कुरो पत्याउँदिनँ।’
नेता नेपालसँग भेटेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेता नेपालसँग खुलस्त रूपमा कुराकानी गरेको बताए।
‘पार्टी एकता बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन,’ उनले भने, ‘समस्या कसरी समाधान गर्ने र टुंगोमा पुर्याउने भन्नेमा हामी सबैको चिन्ता छ।’
उनले छिटै समस्या समाधान गरिने पनि बताए। ठोस रूपमा समस्या समाधान गर्ने गरी फेरि बैठक बस्ने उनले बताए।