काठमाडौं : सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् । ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया नभएकाले नेपाल समूहका २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसदिन उनीहरुले राजीनामा नगर्ने बरु संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वास पाउन नसकेर पदमुक्त भएका थिए ।
प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ । बुधबार बसेको माधव–झलनाथ पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागिरहेको ठहर गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य भएको एक स्थायी समिति सदस्यले बताए ।
‘नेपाल समूहले ओलीलाई २०७५ जेठ २ मा फर्कन माग गरे पनि ओली तयार नभएपछि सो निर्णयमा पुगेको बताएका छन् । राजीनामा दिन तयार भएका सांसदहरुमा नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाललगायत छन् । माधव पक्षले सांसदहरुको राजीनामाअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्नका लागि काँग्रेस र माओवादी केन्द्रसमेत तयार भएको बुझिएको छ । माधव पक्षले मुलुकको निकासका लागि बाध्य भएर राजीनामा दिने कठोर कदम चाल्नुपर्ने अवस्था आएको पनि दाबी गरेको छ ।
राजीनामा दिने निष्कर्षमा पुगेका नेकपा एमालेका प्रत्यक्ष तर्फका सांसदहरुको नामावली
झलनाथ खनाल– इलाम १
माधवकुमार नेपाल–काठमाडौं २
योगेश भट्टराई– ताप्लेजुङ
जयकुमार राई– सुनसरी १
भवानी खापुङ–तेह्रथुम
यज्ञराज सुनुवार–ओखलढुंगा
गणेश पहाडी–सिन्धुली १
पवित्रा निरौला खरेल– झापा २
जीवनराम श्रेष्ठ– काठमाडौं ८
नारायण खतिवडा– नुवाकोट १
विरोध खतिवडा–मकवानपुर २
सुरेन्द्र पाण्डे –चितवन १
घनश्याम भुसाल–रुपन्देही ३
गोकर्ण विष्ट–गुल्मी १
मेटमणि चौधरी दाङ–१
झपट रावल कैलाली–२
दीपकप्रकाश भट्ट– कञ्चनपुर ३
भीम रावल–अछाम १
कृष्णलाल महर्जन–ललितपुर २
सोमप्रसाद पाण्डे –पाल्पा २