२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

ओली र नेपालको मिलन भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पद धरापमा



कैलाली : पार्टीमा अन्तरसंघर्ष गर्दै आएका दुई पक्ष एक ठाउँमा आएपछि नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता गर्ने एमालेले तयारी गरेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले हो। यो प्रदेशमा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन्। माओवादीबाट सांसद बनेका झपटबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि पदमुक्त भएका छन्।

१३ सांसद भएको माओवादीले एमालेको समर्थनमा सरकार चलाएको हो। ओली र नेपाल पक्ष एक ठाउँमा आएपछि एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन लागेको हो। यो प्रदेशमा सरकार बनाउन कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ। त्यसका लागि सबैभन्दा ठूलो दल भए पनि एमालेलाई दुई मत पुग्दैन। कांग्रेस वा जसपाको साथ लिएर सरकार बनाउन लागेको नेताहरू बताउँछन्।

एमालेको नेतृत्वमा सरकार बनाउन दुई सांसद भएको जसपाको समर्थन पर्याप्त छ। तर, केन्द्रमा जस्तै जसपा यहाँ पनि विभाजित छ। जसपा सुदूरपश्चिम संसदीय दलकी नेता मालामती राना थारू अध्यक्ष महन्थ ठाकुर पक्ष र कैलाली–१ (१) बाट निर्वाचित जसपा सांसद कृष्णबहादुर चौधरी उपेन्द्र यादव पक्षधर मानिन्छन्।


प्रतिक्रिया दिनुहोस !