
निषेधाज्ञामापनि उडान हुने गरी सरकारले भारतपछि कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुलाउने निर्णय गरेको छ ।साताको एक एक उडान हुने गरी दुई देशमा हुने उडान प्रतिबन्ध खुल्ला गर्ने भएको हो । सोमबार साझ बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
उनका अनुसार यी देशबाट नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री लगाएत अत्यावश्यक समाग्री नेपाल ल्याउनलाई सहज नभएपछि उडान खुलाउनुपर्ने बाध्यता भएको हो ।
यो सँगै निषेधाज्ञामापनि उडान हुने देश तीन ओटा पुगेका छन् । यस अघि भारतमा साताको दुई उडान हुने गरी हवाई उडान खुला गरिएको थियो ।
चीन र कतारमा भने कहिलेदेखि उडान गर्ने भन्ने बिषयमा निर्णय भइसकेको छैन । कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ ।
कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान तर्फ सरकारले जेठ १७ गते सम्म प्रतिबन्ध लगाएको छ भने आन्तरिक तर्फपनि कहिले खुल्ने टुङ्गो छैन ।