१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

कोरोनाको उपचारमा प्रभावकारी देखिएको रेम्डिसिभिरको नेपालमै उत्पादन सुरु



काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए । उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने महासचिव अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमण बढेसँगै नेपालमा यसको माग उच्च छ । तर माग अनुसारको आपूर्तिमा भने सहज छैन । भारतबाट आयात हुँदै आएको रेम्डिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि निर्यातमा भारत सरकारले रोक लगाएको छ । भारतले निर्यातमा रोक लगाएपछि अहिले बंगलादेशबाट आयात हुने गरेको छ । तर, आयातले समेत नधान्ने अवस्था सिर्जना भएको छ । बजारमा प्रसस्तै नभेटिदा यसको कालोबजारी बढ्दै गएको छ । बुधबारमात्रै पनि रेम्डिसिभिर कालोबजारी गरेको अभियोगमा एक जना कारागार चलान भएका छन् ।

कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मिया बुधबार पुर्पक्षका जेल चलान भएका हुन् । नेपाल प्रहरीको अपराध महाशाखाले २३ वैशाखमा उनलाई बसुन्धारा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि ६ थान रेम्डिसिभिर औषधि ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो । अहिले सरकारले रेम्डिसिभिरको मूल्य प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने गरी मूल्य तोकेको छ । कोभिड(१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले लयएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ । औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय