एजेन्सी । छिमेकी चीनमा निर्माणाधीन विश्वकै दोस्रो ठूलो बैहितान जलाशय आयोजनाबाट आउँदो २ महिनाभित्र बिजुली उत्पादन हुने भएको छ । अहिले पानी भर्न र परीक्षण उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।
जुलाईसम्म आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन हुने समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । जुलाई १ देखि आयोजनाको पहिलो युनिटबाट १ हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।
सञ्चालन सुरु गर्न जलविद्युत उत्पादन एकाइको पहिलो समूह अगस्टदेखि सेप्टेम्बरसम्म जलाशयको पानी ८०० मिटर भण्डार हुनेछ । त्यसपछि बिस्तारै जुन २०२२ मा ८२५ मिटरको सामान्य भण्डारण हुनेछ । आयोजनाबाट सन् २०२२ देखि १६ हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।
बैहितान जलाशयको कुल भण्डारण क्षमता २० अर्ब ७२ करोड ७० लाख घन मिटर छ । जुन जिन्सा नदी घाँटीको ९१ प्रतिशत हो । ७.५ अर्ब घन मिटर क्षमताको जलाशय याङत्जी नदी बाढी नियन्त्रण प्रणालीको महत्वपूर्ण हिस्सा हो ।
विद्युत गृहको जडित क्षमता १६ हजार मेगावाट अर्थात १६ गिगावाट छ । यो विद्युतगृह चीनको थ्री गर्जेजभन्दा सानो हो । थ्री गर्जेजको जडित क्षमता २२ हजार ५०० मेगावाट अर्थात २२.५ गिगावाट छ । यो विश्वको दोस्रो ठूलो बाँध परियोजना हो ।
यो बाँध परियोजना जिन्सा रिभर चुनयुनआन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको छ । परियोजना बनाउन ६ अर्ब ३० करोड अमेरिकी डलर अनुमान गरिएको छ । आयोजनाको निर्माण २०१७ देखि सुरु भएको हो । आयोजनाबाट वार्षिक ६० अर्ब २४ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
आयोजनामा १००० मेगावाटको क्षमताका १६ वटा टर्वाइन हुने छन् । बाँधको उचाइ २७७ मिटर अग्लो छ । बैहितान बाँध चीनको दक्षिण पश्चिममा सिचुआन र युन्नान प्रान्तहरूमा यांग्त्जी नदीको माथिल्लो भागको जिन्सा नदीमा निर्माणाधीन एक ठूलो जलविद्युत बाँध हो । आयोजनामा डबल कर्भेट आर्च बाँधको निर्माण गरिएको छ ।
आयोजना जिन्सा रिभर चुनयुनआन र चाइना थ्री गर्जेज कर्पोरेसनको ७० प्रतिशत हिस्सा छ । यसैगरी सिचुवान इन्भेस्टमेन्ट ग्रुपको १५ र युनान इन्भेस्टमेन्ट ग्रुपको १५ प्रतिशत लगानी रहेको छ ।