काठमाडौं । माओवादी जनयुद्धका कमाण्डर बादललाई एमालेमा प्रवेश गरेको दुई महिना पूरा नहुँदै ४०० भोल्टको करेन्टको झट्का लागेको छ । माओवादी र एमालेको बीचमा एकता भई बनेको नेकपा विभाजनपछि सर्वोच्च अदालतले एमाले र माओवादी ब्युताएपछि एमालेको नेपाल समूह पार्टीमै फर्किए पनि नेता रामबहादुर थापा बादललगायतका २३ जना माओवादीका नेताहरु भने एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेका सांसदहरुलाई माओवादीले कारबाही गरेपछि माओवादीबाट एमालेमा गएका नेताहरुको सांसद पद गुमेको थियो । त्यही क्रममा सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको दुई घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पनि बादल पराजित भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरे ।
देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि समर्थन जनाएको थियो । बादललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गरेका थिए । माधव नेपाल निकट देवकोटाले उम्मेदवारी दिंदा माओवादी सांसद प्रस्तावक र कांग्रेस सांसद समर्थक बसेका थिए । यो नतिजाबारे बादल पनि जानकार थिए । त्यसैले सुरुमा उनी उम्मेदवार बन्न राजी भएनन् । तर उम्मेदवारी दर्ता गर्ने दिन (२४ वैशाख) हेलिकप्टरमा हेटौंडा पुगेका थिए । मंगलबार मात्रै बादल नेता नेपाललाई मनाउन कोटेश्वर पुगेका थिए । तर एमालेभित्र सहमति जुट्न नसकेपछि एमालेकै उम्मेद्वार देवकोटासँग सूर्य चिन्ह सहित मैदानमा उत्रिएका बादल पराजित भए । २२ प्रदेश सदस्य र स्थानीय तहमा ६८ पदाधिकारी रहेको कांग्रेससँग २२८० र २३ सांसद र ३३ स्थानीय तहमा पदाधिकारी रहेको माओवादीसँग १६९८ मत छ । यो जोड्दा तीन हजार ९७८ मत पुग्छ । १३२ सिट रहेको नेपाल मजदूर किसान पार्टीले आफ्नै उम्मेदवार उठाएको थियो भने साझा विवेकशील तटस्थ बसे ।
सर्वोच्च अदालतको फैसला र स्वयं उनले लिएको निर्णयका कारण बादल गएको ५ वैशाखबाट बादल पदमुक्त भएका थिए । माओवादी केन्द्रले सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । बादल भने गृहमन्त्री सहित एमालेमै बसे । अतः उपनिर्वाचनको अवस्था आइलाग्यो र मतदानमा पराजित पनि भए । तर बिहीबार भने बादलले त्यही गृहमन्त्री पद पनि गुमाउनु परेको छ । यदि, उपनिर्वाचनमा उनले जितेका थिए भने फेरि गृहमन्त्रीमै बहाली हुने बाटो खुल्ने थियो ।
राष्ट्रियसभा सदस्यमा पराजय र गृहमन्त्रीबाट पदमुक्त भएका बादलको हैसियत अब एमाले नेता मात्रै रहेको छ । बादलले राजनीतिक जीवनको गौरवसँग जोडिएको माओवादी पार्टी, राष्ट्रियसभा सदस्य पद र गृहमन्त्री गरि तीन वटा कुरा गुमाएका छन् । उनी बैद्य माओवादीको विभाजन गरेर ६ जेठ २०७३ मा मात्रै नेकपा माओवादी केन्द्रमा फर्किए थिए । का हुन् । २०३७ देखि भूमिगत राजनीतिमा होमिएका र दशवर्षे माओवादी युद्धका एक योजनाकार मानिने बादल २०६९ पछि पुष्पकमल दाहाल प्रचण्डसँग अलग भएका थिए । चुनावमा हार निश्चित भएकाले आफु नलड्ने अडान लिएका बादललाई नेपालको राजनीतिमा तिकडम, जालझेल गरेर सबैलाई तह लगाउने ओलीले अन्तिममा समयमा आएर कन्भिन्स गराएका थिए । यो राजनीतिक घटनालाई बादलको राजनीतिको ओरालो यात्राका रुपमा ठानिएको छ ।