काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन एकैठाउँ उभिने भएका छन् । यसबारे निर्णय लिन शनिबार ११ बजे गठबन्धनमा सहभागी दलहरूको संयुक्त बैठक बस्दै छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको बाबुराम उपेन्द्र पक्ष र नेकपा एमालेको माधव पक्षका साथै राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको बताइएको छ ।
मध्यरातमा प्रतिनिधि सभा विघटन भएर चुनाव घोषणा भएपछि उक्त कदम असंवैधानिक रहेको भन्दै ती दलका नेताहरूले विरोध जनाइरहेका छन् । महामारीका बेला मुलुक चुनावमा जान नसक्ने उनीहरूको ठहर छ । शुक्रबार संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन हुन नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेकी थिईन् । उक्त कदम संविधान मास्ने खेल भएको भन्दै विपक्षी गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ । बैठकले थप निर्णय गरेर अघि बढ्ने बताइएको छ ।