काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ मा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुलाई ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने तयारी गरेको हो । मन्त्रालयले कोरोना कहरको पहिलो लहरमा खटिने स्वास्थ्यकर्मीलाई ५ महिना ५० प्रतिशत जोखिम भत्ता दिने प्रस्ताव अर्थ मन्त्रालय पठाएको हो । कोभिड १९ को पहिलो बेवमा सरकारले कात्तिकसम्मको जोखिम भत्ता स्वास्थ्यकर्मीलाई दिएको थियो । मन्त्रालयले त्यतिबेला कोभिड १९ संक्रमितको उपचार गरेको आधारमा अस्पताललाई केश बेस शोध भर्ना दिएर त्यहीबाट जोखिम भत्ता दिन भनेको थियो । तर, यस पटक भने केस बेसको शोध भर्ना बाहेक कोभिड १९ मा खटिने स्वास्थ्यकर्मीलाई छुट्टै ५० प्रतिशत जोखिम भत्ताका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव पठाइएको हो ।
प्रस्तावमा ५० प्रतिशत जोखिम भत्ता फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मीलाई मात्र उपलव्ध गराउन भनिएको छ । अघिल्लो लहरमा मन्त्रालय र विभागमा खटिएका कर्मचारीले ५० प्रतिशत जोखिम भत्ता लिएका थिए तर फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाएका थिएनन् । स्वास्थ्यले मन्त्रालय र विभागका कर्मचारीलाई भने जोखिम भत्ता नदिने प्रस्तावमा छ । अर्थ मन्त्रालयबाट सहमति आएसँगै उक्त प्रस्ताव क्याबिनेट लैजाने तयारी छ ।